१८ असार २०८३, बिहीबार

नेपाल–थाइल्यान्डबीच व्यापार, पर्यटन र कृषि सहकार्य सुदृढ गर्ने सहमति

बैंकक (थाइल्यान्ड) । थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एसिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिनसँग बिहीबार भेटवार्ता गरेका छन्।

बैंककस्थित नेपाली राजदूतावासका अनुसार भेटमा दुवै पक्षले नेपाल र थाइल्यान्डबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, संस्कृति, कृषि र शिक्षालगायत आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल गरे। साथै, उनीहरूले गत वर्ष दुई देशबीच सम्पन्न आठ वटा समझदारीको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै ती सहमतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिए। कृषि सहयोग तथा फौजदारी मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी प्रस्तावित द्विपक्षीय सम्झौता शीघ्र निष्कर्षमा पुर्याउने विषयमा पनि छलफल भयो।

दुवै पक्षले नेपाल–थाइल्यान्ड संयुक्त परामर्श संयन्त्रको आगामी बैठक पारस्परिक रूपमा अनुकूल समयमा यथाशीघ्र नेपालमा आयोजना गर्नेबारे पनि विचार आदानप्रदान गरे। नेपाल र थाइल्यान्डबीचको व्यापारिक परिपूरकता वृद्धि गर्दै नेपाली तथा थाइ उत्पादनबीच मूल्य शृङ्खला सुदृढ गर्ने र हिमाली तथा सामुद्रिक स्रोतमा आधारित वस्तु तथा सेवाको एकीकरणमार्फत थप मूल्य अभिवृद्धि गर्ने विषयमा पनि जोड दिइयो।

यसैगरी, दुवै पक्षले पारस्परिक आधारमा भिसा प्रक्रिया सहज बनाउने, पर्यटन सेवामा सुधार गर्ने तथा मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र साइबर अपराध नियन्त्रणका लागि सूचना तथा गुप्तचर आदानप्रदानमा सहकार्य सुदृढ गर्ने सहमति व्यक्त गरे। क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य अभिवृद्धि गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा एकअर्काको उम्मेदवारीलाई पारस्परिक समर्थन गर्ने प्रतिबद्धता पनि दुवै पक्षले व्यक्त गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button