चीनमा भारी वर्षा र असिनाको चेतावनी : सिचुआन र ग्वाङडोङमा १८० मिलिमिटरसम्मको झरीको सम्भावना

बेइजिङ । चीनको राष्ट्रिय मौसम केन्द्र (एनएमसी) ले शुक्रबार देशको उत्तरपश्चिम, दक्षिणपश्चिम र दक्षिणी भागका केही क्षेत्रमा भारी वर्षा र चर्को आँधीका लागि नीलो चेतावनी जारी गरेको छ।
शुक्रबार दिउँसोदेखि शनिबार दिउँसोसम्म भित्री मंगोलिया, गान्सु, निङ्सिया, सान्सी, सिचुआन र दक्षिण चीनका विशाल भूभागमा भारीदेखि अति भारी वर्षा हुने राष्ट्रिय मौसम केन्द्रले जनाएको छ। दक्षिणपश्चिम चीनको सिचुआन बेसिनको उत्तरपूर्वी भाग र दक्षिण चीनको तटीय ग्वाङडोङका केही स्थानमा १८० मिलिमिटरसम्मको मुसलधारे वर्षा हुने सम्भावना छ।
यसै अवधिमा उत्तर चीनका साथै दक्षिण चीनका पश्चिमी र दक्षिणी क्षेत्रमा मेघगर्जन, हावाहुरी वा असिना पर्ने छ। भित्री मंगोलिया र हेबेईका साथै ग्वाङ्सी र ग्वाङडोङका केही भागमा हावाको गति ११ तहसम्म पुग्न सक्ने अनुमान छ।
राष्ट्रिय मौसम केन्द्रले स्थानीय सरकारहरूलाई जल निकास र अचानक बाढीको जोखिमका लागि तयारी गर्न, विद्यालयहरूलाई विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न सचेत गराउन र चालकहरूलाई सडकमा पानी जम्ने समस्याप्रति सावधान रहन आग्रह गरेको छ।





