‘अमेरिकालाई पुनः महान बनाउने र चीनलाई पुनर्जागृत गर्ने’ : सी–ट्रम्पबीच अन्तिम दिन निजी वार्ता

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शुक्रबार बेइजिङमा निजी भेटवार्ता सम्पन्न भएको छ। यो भेट एक दिनअघि भएको औपचारिक वार्तापछि भएको हो।
ट्रम्पको भ्रमणलाई ऐतिहासिक र कोशेढुङ्गाका रूपमा चित्रण गर्दै राष्ट्रपति सीले दुवै पक्षले रणनीतिक स्थायित्वसहितको रचनात्मक चीन–अमेरिका सम्बन्ध निर्माणको नयाँ दृष्टिकोण तय गरेको बताए। उनले भने, “हामीले स्थिर आर्थिक तथा व्यापारिक सम्बन्ध कायम राख्ने, विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्ने र एकअर्काका चासोहरूलाई उपयुक्त ढङ्गले सम्बोधन गर्ने विषयमा महत्त्वपूर्ण साझा बुझाइमा पुगेका छौं।”
सीले दुवै पक्ष अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा सञ्चार र समन्वय सुदृढ गर्न पनि सहमत भएको जानकारी दिए। उनले यस भ्रमणले पारस्परिक बुझाइ अभिवृद्धि, आपसी विश्वास गहिरो बनाउन र दुई जनताको कल्याणमा सुधार ल्याउन सहयोगी हुने बताए।
राष्ट्रपति सीले थपे, “यसले चीन र अमेरिकाले एकअर्कासँग सही ढङ्गले व्यवहार गर्ने बाटो पहिल्याउनु र पारस्परिक सम्मानको आधारमा शान्तिपूर्ण सहअस्तित्व र जीत–जीत सहकार्य हासिल गर्नु दुवै जनताको साझा आकाङ्क्षा र विश्वभरका मानिसहरूको अपेक्षा रहेको फेरि एकपटक देखाएको छ।”
उनले भने, “राष्ट्रपति ट्रम्पले अमेरिकालाई पुनः महान बनाउने आशा राख्नुहुन्छ भने म चिनियाँ जनतालाई राष्ट्रिय पुनर्जागरणतर्फ डोर्याउन प्रतिबद्ध छु।” सहकार्य सुदृढ गरेर दुई देशले आ–आफ्नो विकास र पुनरुत्थानलाई अगाडि बढाउन सक्नेमा सीले जोड दिए। उनले चीन र अमेरिकाले हासिल भएका महत्त्वपूर्ण साझा बुझाइहरू कार्यान्वयन गर्न, कठिनाइले प्राप्त सकारात्मक गतिको कदर गर्न, सही दिशामा अघि बढ्न, अवरोधहरूबाट जोगिन र द्विपक्षीय सम्बन्धको स्थिर विकासलाई प्रवर्द्धन गर्नुपर्ने बताए।





