अस्ट्रेलियाली अनुसन्धानकर्ताको खोज : शरीरकै प्रतिरक्षा बढाएर एन्टिबायोटिक प्रतिरोधी सङ्क्रमणविरुद्ध लड्ने नयाँ बाटो

क्यानबेरा । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले शरीरको आफ्नै प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाएर औषधि प्रतिरोधी जीवाणु सङ्क्रमणविरुद्ध लड्ने एउटा सम्भावित नयाँ उपाय पहिचान गरेका छन्, जसले एन्टिबायोटिकको आशाजनक विकल्प प्रस्तुत गरेको छ।
अस्ट्रेलियाको युनिभर्सिटी अफ क्विन्सल्यान्ड (यूक्यू) को नेतृत्वमा भएको एक अध्ययनले प्रतिरक्षा कोषहरूले आक्रमणकारी जीवाणुलाई मार्न ‘माइटोकन्ड्रियल फिसन’ नामक प्रक्रिया सक्रिय गर्ने पत्ता लगाएको छ, जसमा माइटोकन्ड्रिया साना एकाइहरूमा विभाजित हुन्छन्। यूक्यूले शुक्रबार जारी गरेको वक्तव्यमा यो जानकारी दिइएको हो।
तर, केही जीवाणुहरूले यो प्रक्रियालाई अवरुद्ध गर्ने रणनीति विकास गरेका छन्, जसले गर्दा सङ्क्रमण लम्बिन सक्छ। ‘साइन्स इम्युनोलोजी’ पत्रिकामा प्रकाशित यस अध्ययनका सहलेखक तथा यूक्यूको आणविक जैविक विज्ञान संस्थानका जेम्स कर्सनले यो जानकारी दिए।
अनुसन्धानकर्ताहरूले एचडीएसी६ इन्हिबिटरका रूपमा चिनिने एक प्रयोगात्मक यौगिकले प्रतिरक्षा कोषहरूमा माइटोकन्ड्रियल फिसनलाई पुनः सक्रिय गरी आक्रमणकारी जीवाणुसँग लड्न सक्ने पत्ता लगाएको कर्सनले बताए। उनले थपे, “यो उपचारले माइटोकन्ड्रियल फिसनलाई सहयोग गर्न शरीरको प्रतिरक्षा प्रतिक्रियालाई परिमार्जन गरेर काम गर्छ, जसले एन्टिबायोटिकले जस्तो सीधा जीवाणुलाई लक्षित नगरी सङ्क्रमणसँग लड्न सक्षम बनाउँछ।”
अध्ययनले जीवाणु सङ्क्रमणले माइटोकन्ड्रियल फिसनलाई प्रेरित गर्ने र यसले शरीरको अन्तरकोषीय ऊर्जा भण्डारलाई सक्रिय बनाई एन्टिमाइक्रोबियल लिपिड कणहरू जम्मा गर्ने देखाएको छ, जुन सङ्क्रमणविरुद्ध लड्न मद्दत गर्ने रक्षा संयन्त्र हो।
कर्सनका अनुसार ‘होस्ट डाइरेक्टेड थेरापी’ (एचडीटी) भनिने यस्ता उपायहरूले विश्व स्वास्थ्य सङ्गठनले शीर्ष वैश्विक सार्वजनिक स्वास्थ्य खतराका रूपमा पहिचान गरेको ‘एन्टिबायोटिक प्रतिरोधी जीवाणुको वैश्विक भार’ लाई सम्बोधन गर्न सहयोग गर्न सक्छन्। अनुसन्धानकर्ताहरूले धेरै एन्टिबायोटिक प्रतिरोधी जीवाणु, जसलाई प्रायः ‘सुपरबग’ भनिन्छ, उपचार गर्न निकै कठिन रहेको र यस्ता सङ्क्रमणसँग लड्न एचडीटीजस्ता नयाँ दृष्टिकोणको तत्काल आवश्यकता रहेको बताएका छन्।





