तातोपानी नाकामा सुनसानको चिसो सास : नयाँ नियमले झोलेपोके व्यापार ठप्प, सयौं परिवारको जीविका सङ्कटमा

सिन्धुपाल्चोक । नेपाल–चीन सीमास्थित तातोपानी नाका यतिबेला अस्वाभाविक रूपमा सुनसान बनेको छ। बिहान सबेरै चिनियाँ बजार झाङ्मु पुगेर बेलुका झोलाभरि सामान बोकेर फर्किने स्थानीयको चहलपहल नयाँ सरकारी नियम लागू भएसँगै एकाएक रोकिएको छ।
तातोपानी भन्सार कार्यालयले मितेरीपुलस्थित यात्रु शाखाबाट खाद्य तथा प्लान्ट क्वारेन्टाइन अनुमति नभएका सामग्री ल्याउन रोक लगाएपछि सीमावर्ती क्षेत्रको झोलेपोके व्यापार ठप्प बनेको हो। यसबाट भोटेकोशी गाउँपालिका र बाह्रबिसे आसपासका सयौं परिवार प्रत्यक्ष प्रभावित भएका छन्। भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले नयाँ व्यवस्थाले स्थानीयको दैनिकी नै सङ्कटमा परेको बताए। “सीमा क्षेत्रका धेरै परिवार यही सानो व्यापारमा निर्भर थिए। अहिले उनीहरू कामविहीनजस्तै भएका छन्,” उनले भने।
यसअघि यहाँको तातोपानी, लिस्तीकोट, फुल्पिकझी, मार्मिललगायत क्षेत्रका स्थानीय दैनिक रूपमा चिनियाँ बजार झाङ्मु पुगेर खाद्यान्न, घरायसी तथा विद्युतीय सामान ल्याएर बिक्री गर्दै आएका थिए। त्यही आम्दानीबाट घरखर्च, बालबालिकाको पढाइ र ऋण व्यवस्थापन हुँदै आएको स्थानीयको भनाइ छ। झोलेपोके व्यापारमा संलग्न शान्ता श्रेष्ठले सरकारले गरिब समुदायको जीविकोपार्जनको बाटो बन्द गरिदिएको गुनासो गरिन्। “हामी उद्योगपति होइनौं, दिनभरि बोकेर ल्याएको सामान बेचेर घर चलाउने मान्छे हौं,” उनले भनिन्।
स्थानीयका अनुसार पछिल्लो एक महिनायता यात्रु शाखाबाट व्यवहारमै कुनै पनि खाद्य सामग्री ल्याउन दिइएको छैन। यसको असर सीमापारिका साना पसल र श्रमिकमाथि समेत परेको छ। नेपाली ग्राहकको भरमा चल्ने झाङ्मुका धेरै खुद्रा पसल सुनसान बनेका छन् भने त्यहाँ कार्यरत नेपाली कामदार गाउँ फर्किन थालेका छन्। स्थानीय सेते श्रेष्ठले भोटेकोशी क्षेत्रको भौगोलिक कठिनाइका कारण वैकल्पिक रोजगारीको सम्भावना न्यून रहेको बताए। “यहाँ खेतीयोग्य जमिन छैन, उद्योग छैन। सीमापारिको सानो व्यापार नै मुख्य आयस्रोत थियो,” उनले भने।
भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाले समस्या समाधानका लागि विभिन्न तहमा छलफल भइरहे पनि निकास ननिस्किएको बताए। “खासा खुल्ने आशामा बसेका स्थानीय अहिले सामान्य घरायसी सामानसमेत ल्याउन नपाउँदा थप तनावमा छन्,” उनले भने।
तातोपानी नाका विगतमा भूकम्प, बाढीपहिरो, कोभिड–१९ र आगलागीजस्ता घटनाले पटक–पटक प्रभावित हुँदै आएको थियो। केही महिनाअघि चीनतर्फ लागेको डढेलोका कारण पनि नाका प्रभावित बनेको थियो। तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेले सरकारको नयाँ व्यवस्थाअनुसार क्वारेन्टाइन अनुमति नभएका खाद्य सामग्री रोकिएको स्पष्ट पारे। उनका अनुसार भ्याटमा दर्ता भएका व्यावसायिक फर्मले आवश्यक प्रक्रिया पूरा गरेर मात्र सामान आयात गर्न पाउने व्यवस्था छ। “खाद्यजन्य सामग्रीमा क्वारेन्टाइन अनिवार्य गरिएको हो। हाल भन्सार नगरी कुनै सामान नछोडिएको अवस्था छ,” उनले भने। नयाँ नियम लागू हुनुअघि पाँच हजार मूल्य बराबरको सामान भन्सार गरेर ल्याउने प्रचलन थियो। नयाँ सरकार बनेपछि नाकाबाट कुनै पनि सामान ल्याउन नदिएको झोलेपोके व्यापारीले दुखेसो गरेका छन्।





