२० वर्षे ब्रिक्सको नयाँ दिशा : बहुपक्षीयताको सुदृढीकरण र ग्लोबल साउथको पक्षमा एकता

नयाँ दिल्ली । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भारतको अध्यक्षतामा नयाँ दिल्लीमा आयोजित ब्रिक्स विदेशमन्त्रीस्तरीय बैठकमा सहभागिता जनाएका छन् । मे १४ र १५ मा सम्पन्न उक्त बैठकका क्रममा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गरेका थिए ।
बैठकमा अन्तर्राष्ट्रिय एजेण्डाका समसामयिक विषयमा विस्तृत र विश्वासपूर्ण विचार आदानप्रदान भएको थियो । बहुपक्षीयता सुदृढ गर्ने र शान्ति, सुरक्षा तथा दिगो विकास सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको केन्द्रीय समन्वयकारी भूमिकाप्रति सामूहिक समर्थन व्यक्त गरिएको थियो । सदस्य राष्ट्रले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघ बडापत्रका सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता पनि दोहोर्याएका थिए ।
साझेदार राष्ट्रका प्रतिनिधिमण्डलसहितको सत्रमा संयुक्त राष्ट्रसंघ, विश्व व्यापार संगठन र ब्रेटन उड्स संस्थाहरूसमेतको बहुपक्षीय प्रणालीमा सुधार गर्दै विश्व बहुमतका मुलुकको भूमिका अभिवृद्धि गर्ने साझा लक्ष्य व्यक्त गरिएको थियो । गैरकानूनी प्रतिबन्धलगायत एकपक्षीय कदमले विश्वव्यापी अर्थतन्त्र र ग्लोबल साउथ तथा पूर्वी मुलुकको विकासमा पारेको नकारात्मक प्रभावबारे पनि ध्यानाकर्षण गराइएको थियो ।
मध्यपूर्वलगायत विश्वका विभिन्न क्षेत्रका संकटग्रस्त अवस्थामा विशेष ध्यान दिँदै द्वन्द्वहरू विशुद्ध राजनीतिक–कूटनीतिक माध्यमबाट मात्र समाधान गर्नुपर्ने साझा अडानलाई पुनः पुष्टि गरिएको थियो । यसै वर्ष स्थापनाको २० औं वार्षिकोत्सव मनाइरहेको ब्रिक्सको अन्तरसरकारी संयन्त्रमा बहुपक्षीय सहकार्यका विविध पक्षमा विषयगत छलफल भएको थियो ।
आगामी सेप्टेम्बरमा नयाँ दिल्लीमा हुने १८ औं ब्रिक्स शिखर सम्मेलनको तयारीका सन्दर्भमा सहकार्यका भावी दिशा निर्धारण गरिएको थियो । राजनीति र सुरक्षा, अर्थतन्त्र र वित्त, तथा मानवीय सम्बन्धलगायत सबै प्रमुख क्षेत्रमा ब्रिक्सको रणनीतिक साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
रुसी विदेशमन्त्री लाभरोभले बहुध्रुवीय विश्व व्यवस्थाको केन्द्रीय तत्वका रूपमा स्थापित ब्रिक्समाथि समकालीन चुनौतीको सामूहिक समाधान खोज्ने जिम्मेवारी रहेकोमा जोड दिए । अन्तर्राष्ट्रिय मञ्चहरूमा सदस्य तथा साझेदार राष्ट्रबीचको दृष्टिकोणमा समन्वय सुदृढ गर्ने महत्वमा पनि बैठकले ध्यानाकर्षण गराएको थियो । बैठकको समापनपछि अन्तिम दस्ताबेज सार्वजनिक गरिएको छ ।





