ट्रम्पको बिदाइलगत्तै पुटिनको चीन भ्रमण : बेइजिङले मस्कोसँगको रणनीतिक सम्बन्धलाई प्राथमिकतामा राखेको सङ्केत

मस्को/बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी साता चीनको भ्रमणमा जाने भएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बेइजिङमा भएको चर्चित शिखर वार्ताको केही दिनपछि पुटिनको भ्रमणको खबर सार्वजनिक भएको हो।
पुटिनको यो भ्रमणलाई मस्को र बेइजिङबीचको रणनीतिक साझेदारी थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ। विश्व राजनीति तीव्र रूपमा परिवर्तन भइरहेको सन्दर्भमा यस भ्रमणको समयलाई विशेष अर्थपूर्ण मानिएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार रुस र चीनका अधिकारीहरूले भ्रमणका क्रममा द्विपक्षीय व्यापार, ऊर्जा सहकार्य, क्षेत्रीय सुरक्षा तथा युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरेका छन्। युक्रेन युद्धपछि पश्चिमा मुलुकहरूले रुसमाथि कडा प्रतिबन्ध लगाए पनि मस्कोले बेइजिङसँगको आर्थिक तथा कूटनीतिक सम्बन्धलाई थप विस्तार गर्दै आएको छ।
युक्रेन युद्धमा चीनले आफू तटस्थ रहेको दाबी गर्दै आएको छ। पश्चिमा देशहरूले चीनले रुसलाई आर्थिक तथा कूटनीतिक रूपमा सहयोग गरिरहेको आरोप लगाए पनि बेइजिङले त्यस्ता आरोपमा सत्यता नरहेको बताउँदै आएको छ।
क्रेमलिनका अनुसार भ्रमणका क्रममा पुटिन चिनियाँ उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै विभिन्न द्विपक्षीय कार्यक्रममा सहभागी हुनेछन्। ट्रम्पको भ्रमणलगत्तै हुन लागेको पुटिनको चीन भ्रमणले बेइजिङले वासिङ्टनसँग संवाद बढाए पनि मस्कोसँगको रणनीतिक सम्बन्धलाई निरन्तर प्राथमिकतामा राखेको सङ्केत दिएको अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषण छ।





