६ असार २०८३, शनिबार

मित्र मिलन सहकारी ठगी प्रकरण : रास्वपा सांसदका स्वकीय सचिवसहित २६ विरुद्ध पक्राउ पुर्जी, रेग्मी फरार

पोखरा । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्का नेता जोडिएका छन्। कास्की प्रहरीले रास्वपा नेता बोधराज रेग्मीसहित २६ जनाविरुद्ध जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरेको छ।

पक्राउ पुर्जी जारी भएसँगै रास्वपा स्याङ्जाका नेता रेग्मी फरार भएका छन्। उक्त सहकारीबाट ऋण लिएर लामो समयसम्म नतिर्ने र पटकपटक ताकेता गर्दा पनि अटेर गर्नेहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको हो। कास्की प्रहरीका एक अधिकृतले पुर्जी जारी भएको पुष्टि गरेका छन्।

फरार भएका बोधराज रास्वपाबाट स्याङ्जा क्षेत्र नम्बर १ मा विजयी प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीका स्वकीय सचिव हुन्। उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। रेग्मी रास्वपाका एक युवासँगै ०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं. १ बाट उम्मेदवार पनि हुन्। उनी स्याङ्जाको पुतलीबजार नगरपालिका–५ नयाँबजारका बासिन्दा हुन्।

यसअघि २०८० मंसिरमै उक्त सहकारीका सञ्चालकहरूविरुद्ध कारबाही अघि बढेको थियो। सहकारीको रकम हिनामिना आरोपमा त्यतिबेला पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी, ताण्डव न्यूज डटकमका सम्पादकसमेत रहेका एमाले पोखरा २१ का इन्चार्ज अर्जुन गिरी, सहकारीका उपाध्यक्ष विजय लम्साल र कानुनी सल्लाहकार जनकल्याण पराजुलीलगायत विरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। तीमध्ये केही अहिले जेल सजाय काटिरहेका छन्।

संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी पहिले नै पक्राउ परिसकेका थिए। बचतकर्ताको रकम फिर्ता नभएपछि पीडितहरूले उजुरी दिएका थिए। सहकारी रजिस्ट्रारको कार्यालय पोखराका अनुसार सहकारीको वित्तीय विवरणमा कैफियत देखिएको र २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना भएको पाइएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button