१८ असार २०८३, बिहीबार

चुनावी धक्कापछि एमाले सचिवालय बैठक आह्वान : नेतृत्व परिवर्तनको दबाबबीच ओली स्वास्थ्यका कारण पूरा समय बस्न नसक्ने

काठमाडौं । फागुन २१ को निर्वाचनमा अहिलेसम्मकै ठूलो धक्का व्यहोरेको नेकपा एमालेले पहिलो पटक सचिवालय बैठक आह्वान गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा शनिबार बैठक बस्न लागेको उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

चुनावी नतिजाको धक्काले गलेका ओलीले लामो समय सचिवालय बैठक छलेका थिए। तर, बाध्यकारी अवस्था आएपछि बैठक बस्न लागेको हो। ओलीलाई पार्टी नेतृत्व छाड्नुपर्ने चर्को दबाब छ भने उनी इतिहासकै सबैभन्दा रक्षात्मक अवस्थामा छन्। गत चैत १३ गते पक्राउ परेर १३ दिनपछि छुटेका ओलीलाई अझै पनि नेतृत्वमा टिकाउनुपर्ने नेताहरू पनि उत्तिकै छन्।

उपाध्यक्ष गुरुङका अनुसार शनिबारको बैठकमा फागुन २१ को निर्वाचनको समीक्षाका लागि कार्यदल गठन गरिनेछ। निर्वाचनमा अप्रत्यासित हार भोगेको एमाले त्यसयता निरन्तर सङ्कटमा छ। अध्यक्ष ओली आफैं बिरामी परेपछि पार्टी तङ्ग्रिन सकेको छैन। ओली नै पराजित हुन पुगेपछि चैत १३ गते बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले उनलाई भदौ २३ र २४ को जेन–जी आन्दोलनमा हिंसात्मक गतिविधि गरेको आरोपमा पक्राउ गर्यो। त्यसपछि एमालेका गतिविधि करिब ठप्पजस्तै छन्।

ओली हिरासतबाट छुटे पनि उपाध्यक्ष र महासचिवसहितका नेताहरूसँग बढेको मतभेदका कारण एमाले पनि अहिले बिरामी परेको छ। ओली हिरासतमा रहेका बेला कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले बैठक चलाएका थिए। तर, एमालेले अझै पनि गम्भीर छलफल गर्न सकेको छैन। त्यसपछि ओली निरन्तर बिरामी परे। उनले पित्तथैलीको पत्थरीको शल्यक्रिया पनि गरे। तर, उनी अझै तङ्ग्रिन नसकेर भक्तपुरको गुन्डुमै सीमित छन्।

एमाले सचिव पद्मा अर्याल भन्छिन्, “अध्यक्ष कमरेड अझै बैठकमा पूरै समय बस्न सक्ने भइसक्नुभएको छैन। लामो समयदेखि बैठक बस्न सकेको छैन। चुनावकै समीक्षा गर्न नपाएको लामो समय भयो। त्यसबारे कार्यदलले काम गर्छ। विधि बनाएर कार्यक्षेत्र विभाजन हुन्छ।” उनले अध्यक्ष पूर्ण स्वास्थ्य भएपछि सबैले समीक्षा गर्ने गरी काम हुने बताइन्।

ओलीका एक सचिवालय सदस्यका अनुसार पत्थरीको शल्यक्रियापछि सङ्क्रमण भएका कारण उनी अझै पूर्ण रूपमा ठिक हुन सकेका छैनन्। शनिबारको बैठकमा नेताहरूको कार्यविभाजन र समीक्षाका लागि कार्यदल गठन गरेपछि ओली बाहिरिनेछन्। “उहाँले सचिवालय बैठकमा भाग लिनुहुन्छ। एजेन्डा राखेर फर्किनुहुन्छ। नेताहरूलाई अधिकार दिएर निस्किनुहोला,” ती सदस्यले भने।

शनिबारको सचिवालय बैठक नेतृत्वको छलफलसम्म नपुग्ने अवस्था छ। बैठकमा ओली पूरा समय नबस्ने निश्चित छ। स्वास्थ्यका कारण बाहिरिने भएकाले नेतृत्व फेर्ने छलफल नहुने नेताहरू बताउँछन्। उपाध्यक्ष गुरुङ पनि नेतृत्वको विषयमा छलफलसम्म बैठक नपुग्ने बताउँछन्। “कार्य विभाजन हुन्छ। चुनावको समीक्षा गर्न कार्यदल बन्छ। समीक्षा एक दिनमा हुँदैन। कार्यदलबाट काम अगाडि बढ्छ,” उनले भने।

एमाले सचिवालयमा अहिलेसम्म ओली नै बलियो देखिएका छन्। ओलीको विकल्प खोज्ने पक्षमा उपाध्यक्ष विष्णु पौडेल, रघुजी पन्त, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, उपमहासचिव योगेश भट्टराई, लेखराज भट्ट र शेरधन राईलगायतका नेताहरू जुट्न सक्छन्। तर, उनीहरू एकजुट भएको अवस्थामा मात्र ओली कमजोर हुन सक्छन्। अहिले नै ती नेताहरू एकजुट हुने अवस्था भने छैन।

एउटै भूगोल लुम्बिनीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल लामो समयदेखि एकअर्काविरुद्ध खेल्दै आएका नेता हुन्। तर, पछिल्लो समय ओलीले आफू हिरासतमा रहँदा पौडेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी नदिएर रामबहादुर थापा बादललाई दिएपछि विष्णु चिँढिएका छन् र शंकरसँगको दूरी घटाएका छन्। दुई नेता गत वैशाख २५ गते ओलीलाई भेट्न गुन्डुस्थित निवासमा एकसाथ पुगेका थिए र तत्काल सचिवालय बैठक राखेर निर्वाचनको समीक्षा गर्नुपर्ने मत बनाएका थिए।

उता, युवा नेताहरू भने तत्काल ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन्। समयानुकूल नेतृत्व परिवर्तन नभए अर्को निर्वाचनमा पार्टी नै खोज्नुपर्ने अवस्था आउने उनीहरूको चेतावनी छ।

वाम राजनीति विश्लेषक श्याम श्रेष्ठ एमालेलगायत पुराना दल समयानुकूल परिवर्तन नभए जनताले शून्यमा झारिदिने बताउँछन्। “अहिले त ओली बिरामी हुनुहुन्छ होला, तर उहाँ स्वस्थ भइसकेपछि कुनै न कुनै हिसाबले परिवर्तन गरेर अगाडि बढ्नुपर्छ। ओली मात्रै होइन, पुराना पुस्ताका नेताले पनि आफूलाई परिमार्जन गर्नुपर्छ,” उनी भन्छन्, “म मात्रै राम्रो, अरू सबै नराम्रो भन्ने प्रवृत्तिले पार्टी शून्यमा झर्छ। अवस्थाअनुसार सबैले परिवर्तन नभए अवस्था झन् बिग्रिन्छ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button