रुसले अघि सार्यो ‘वृहत युरेसियाली साझेदारी’ को खाका : इस्लामिक विश्वसँगको सहकार्यलाई प्राथमिकता

काजान (रुस) । रुसी विदेश मन्त्रालयका आर्थिक सहकार्य विभागका निर्देशक डी.ए. बिरिचेभ्स्कीले सत्रौं अन्तर्राष्ट्रिय आर्थिक मञ्च ‘रुस–इस्लामिक विश्व : काजानफोरम’ को एक सत्रमा ‘वृहत युरेसियाली साझेदारी’ (बीईपी) को रणनीतिक खाका प्रस्तुत गरेका छन्। उनले विश्व व्यवस्थामा आएको भूगर्भीय परिवर्तनले नै यो अवधारणा जन्माएको बताए।
बिरिचेभ्स्कीले भने, “केही समयअघिसम्म विकासशील वा सङ्क्रमणकालीन अर्थतन्त्र भनिएका दश राष्ट्रहरू क्रयशक्ति समताका आधारमा विश्वको शीर्ष बीस अर्थतन्त्रमा बलियोसँग प्रवेश गरिसकेका छन्। तर, विश्व बहुमतले अझै पनि शताब्दीयौंदेखि सञ्चित गहिरो अन्याय महसुस गरिरहेको छ।” उनले अन्तर्राष्ट्रिय मुद्रा कोषको कोटा सुधारमा भइरहेको ढिलाइ र पश्चिमा देशहरूले “फूलबारीबाट जङ्गलतिर हेरेझैं” आफ्ना सर्तहरू थोपर्ने प्रवृत्तिलाई यसको प्रमुख कारण बताए।
उनका अनुसार विश्व दक्षिण र पूर्वका मुलुकहरू आफ्नो सार्वभौमसत्ता सुदृढ गर्न, बाह्य हस्तक्षेपबिना क्षेत्रीय समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय मामिलामा आफ्नो आवाज बलियो बनाउन चाहन्छन्। युरेसियाली क्षेत्रमा हाल युरेसियाली आर्थिक सङ्घ (ईएईयू), स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सीआईएस), सांघाई सहयोग सङ्गठन (एससीओ), आसियान, इस्लामिक सहयोग सङ्गठन (ओआईसी), खाडी सहयोग परिषद् (जीसीसी), अरब लिग र दक्षिण–दक्षिण सहकार्य (डीएसए) लगायत दर्जनौं बहुपक्षीय संरचनाहरू सक्रिय छन्। तर, उनले यी मञ्चहरूबीच समन्वयको अभाव, फरक–फरक नियामक प्रणाली र असम्बद्ध पूर्वाधारले व्यवसायका लागि लागत बढाएको र समृद्धिमा ह्रास ल्याएको बताए।
यिनै अवरोधहरू हटाउन वृहत युरेसियाली साझेदारीको पहल गरिएको उनले स्पष्ट पारे। यो लचिलो ‘छाता’ ढाँचा भएको र यसले युरेसियाली सहकार्यका विविधतालाई एकीकृत गर्दै ‘एकीकरणहरूको एकीकरण’ गर्ने लक्ष्य राखेको उनको भनाइ थियो। उनले भने, “यसमा कडा कर्मचारीतन्त्र र सार्वभौम दायित्वहरू छैनन् — प्रत्येकले कुन परियोजनामा र कति मात्रामा सहभागी हुने भन्ने छनोट गर्न पाउँछ।” उनले अफ्रिकी सङ्घ र ल्याटिन अमेरिकी तथा क्यारेबियाली राज्यहरूको समुदाय (सीईएलएसी) लाई यस्ता महाद्वीपीय सहकार्यका सफल उदाहरणका रूपमा प्रस्तुत गरे।
बिरिचेभ्स्कीका अनुसार वृहत युरेसियाली साझेदारीको जग पहिल्यै राखिसकिएको छ। ईएईयू, एससीओ र आसियानबीच नियमित संवाद भइरहेको छ र समझदारी पत्रहरूमा हस्ताक्षर भएका छन्। ईएईयूको विकास योजनालाई चीनको ‘बेल्ट एण्ड रोड’ पहलसँग समन्वय गरिएको छ। पछिल्ला वर्षहरूमा ईएईयूले संयुक्त अरब इमिरेट्स, मङ्गोलिया, इन्डोनेसिया र इरानसँग स्वतन्त्र व्यापार सम्झौता गरिसकेको छ।
उनले मुस्लिम विश्वले युरेसियाको एकीकरण र बहुध्रुवीय विश्वको स्थापनामा अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने बताए। आर्थिक पक्षमा उनले सेन्ट पिटर्सबर्गबाट मध्य एसिया र इरान हुँदै हिन्द महासागरका बन्दरगाहसम्मको सबैभन्दा छोटो मार्ग ‘उत्तर–दक्षिण अन्तर्राष्ट्रिय यातायात करिडोर’ लाई अरब प्रायद्वीप र अफ्रिकाका मार्गहरूसँग जोड्ने विकल्पमाथि विचार गर्न सकिने सुझाव दिए। साथै, ईएईयू र इजिप्टबीच स्वतन्त्र व्यापार सम्झौताका लागि वार्ता भइरहेको जानकारी दिँदै उनले यसले वृद्धिलाई थप गति दिने विश्वास व्यक्त गरे।





