नारायणगढ–मुग्लिन सडकमा स्पिड गन जाँच, पहिलो दिनमै ६० बढी चालक कारबाहीमा

चितवन । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नारायणगढ–मुग्लिन सडकखण्डमा तीव्र गतिमा सवारीसाधन चलाउने चालकविरुद्ध ट्राफिक प्रहरीले कडाइ सुरु गरेको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले जोखिमपूर्ण मानिएको रामनगर–जुगेडी क्षेत्र आसपासमा ‘लिडार स्पिड गन’ प्रयोग गरी सवारीसाधनको गति परीक्षण गर्न थालेको हो।
कार्यालयका अनुसार जङ्गल क्षेत्र आसपासको सडकखण्डमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गरिएको छ। जाँचका क्रममा मापदण्डभन्दा बढी गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको छ।
कार्यालय प्रमुख डिल्लीनारायण पाण्डेले अधिकांश सडक दुर्घटनाको प्रमुख कारणमध्ये तीव्र गति पनि एक भएको पाइएकाले आधुनिक प्रविधिमार्फत अनुगमन कडाइ गरिएको बताए। उनका अनुसार सडक सुरक्षालाई प्रभावकारी बनाउन ‘लिडार स्पिड गन’ प्रयोगमा ल्याइएको हो।
बर्खायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, चिप्लो सडक, कमजोर दृश्यता र तीव्र गतिका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले नियमित गति परीक्षण अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार अभियान सुरु भएको पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारीसाधन चलाउने ६० भन्दा बढी चालक कारबाहीमा परेका छन्।
कार्यालयले चालकहरूलाई सडकको अवस्था, मौसम र ट्राफिक नियमलाई ध्यानमा राखी सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ। नियम उल्लङ्घन गर्ने चालकविरुद्ध नियमित जाँच र कारबाही जारी रहने प्रहरीले जनाएको छ।





