१८ असार २०८३, बिहीबार

कर्णालीको नीति–कार्यक्रममा दलहरूको सुझाव : आवश्यकता र परिणाममुखी बजेटमा जोड

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तर्जुमाका लागि प्रदेशका राजनीतिक दलहरूसँग छलफल गरेको छ।

प्रदेश सरकारले यसअघि जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, विकास साझेदार निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग सुझाव संकलन गरिसकेको थियो। सोही क्रममा शुक्रबार प्रदेशका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग नीति तथा कार्यक्रम र आगामी बजेट निर्माणका विषयमा छलफल गरिएको हो।

छलफलमा मुख्यमन्त्री यामलाल कँडेलले सरकारको नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणमा सबै दलको सुझाव लिन छलफल आयोजना गरिएको बताए। उनले कसैलाई खुसी पार्ने वा कुनै विशेष आशय पूरा गर्ने उद्देश्यले नीति तथा कार्यक्रम र बजेट बनाउने परम्परा अन्त्य गरिने बताए।

मुख्यमन्त्री कँडेलले कर्णालीको विकास, समृद्धि र सुशासनमा प्रत्यक्ष सहयोग पुग्ने गरी नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। सबै क्षेत्रबाट आएका सुझाव र सल्लाहका आधारमा आगामी योजना अघि बढाइने उनको भनाइ थियो।

छलफलमा नेपाली कांग्रेसका प्रदेश सभापति तथा राष्ट्रियसभा सदस्य ललितजङ्ग शाहीले नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने बजेट ल्याउन सुझाव दिए। नेकपाका कर्णाली प्रदेश संयोजक बिमला केसीले कर्णालीका साझा सवाल पहिचान गरी सुशासन कायम गर्ने र परिणाम दिने वैज्ञानिक तथा व्यवहारिक बजेट ल्याउनुपर्ने बताइन्।

नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजङ्ग शाहले आवश्यकताका आधारमा बजेट विनियोजन गर्न आग्रह गरे। उनले योजना छनोट प्रक्रियालाई व्यवहारिक र जनआवश्यकतासँग जोड्नुपर्ने सुझाव दिए।

राप्रपा कर्णाली प्रदेशका कार्यवाहक अध्यक्ष सूर्य खत्रीले भुइँ तहका नागरिकका समस्या सम्बोधन हुने गरी बजेट निर्माण गर्न सरकारलाई आग्रह गरे। नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले वर्तमान आवश्यकता, जेन्जी पुस्ताको मर्म र जनताका प्राथमिकतालाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम आवश्यक रहेको बताए।

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले नीति तथा कार्यक्रम कार्यान्वयनयोग्य बनाउनुपर्नेमा जोड दिए। उनले सडक, स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राख्दै कार्यान्वयन पक्षलाई बलियो बनाउन सुझाव दिए।

एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले भौतिक विकाससँगै मानवीय विकास र युवा रोजगारीलाई सहयोग पुर्‍याउने नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए। नेकपा कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले कर्णालीले आफ्नै राजस्व वृद्धि गर्न सक्ने नीति तथा कार्यक्रम आवश्यक रहेको धारणा राखे।

छलफलमा डोल्पा, हुम्ला र मुगुका नागरिकले आधारभूत स्वास्थ्य सेवा जिल्लामै पाउने गरी अस्पताल सुदृढ गर्नुपर्ने सुझाव दिइएको थियो। त्यस्तै बेरोजगारी समस्या समाधान, कृषि क्षेत्रमा स्थापना भएर अलपत्र परेका उद्योग सञ्चालन, प्रविधि विस्तार, प्राविधिक जनशक्ति वृद्धि, उत्पादनमुखी योजना र रोजगारी सिर्जना गर्ने बजेट ल्याउनुपर्ने सुझाव पनि सहभागीहरूले राखेका थिए।

कार्यक्रममा मुख्यमन्त्री, प्रदेशसभा दलका नेता, प्रमुख सचेतक, राजनीतिक दलका प्रतिनिधि, प्रदेश योजना आयोगका पदाधिकारी तथा सदस्य, प्रमुख सचिवलगायत कर्मचारीहरूको सहभागिता थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button