६ असार २०८३, शनिबार

पनौतीमा ४६ करोडको आलु नष्ट, बेथानचोकमा ६०० रोपनी बाली सखाप

काभ्रेपलाञ्चोक । गत वैशाख १२ र १३ गतेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको दुई स्थानीय तहमा करोडौंको कृषि क्षति पुर्याएको तथ्याङ्कले देखाएको छ। पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाले जिल्लास्थित कृषि कार्यालयमा बुझाएको क्षतिको विवरणअनुसार पनौतीमा मात्र ४६ करोड रुपैयाँ बराबरको कृषि बाली नष्ट भएको छ।

पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीका अनुसार ७५० हेक्टरमा रोपिएको १० हजार ३०० मेट्रिकटन आलुमा आंशिक तथा पूर्ण क्षति पुगेको छ, जसको मूल्य ४३ करोड २६ लाख रुपैयाँ आँकलन गरिएको छ। यस्तै, ५०० टनेलमा २५ लाख, १० हेक्टरको गोलभेँडामा १ करोड २५ लाख र १० हेक्टरको काक्रामा १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ।

उता, बेथानचोक गाउँपालिकामा करिब ६५ लाख रुपैयाँ बराबरको कृषि उत्पादनमा क्षति पुगेको कृषि शाखा प्रमुख दिपेन्द्र पन्तले जानकारी दिए। कृषि कार्यालयको विवरणअनुसार बेथानचोक–१ मा ६०० रोपनी क्षेत्रफलमा ८० मेट्रिकटन कृषि बाली उत्पादनमा क्षति पुगेको छ। वडा नं २ मा ४०० रोपनी, वडा नं ३ मा १२०० रोपनी, वडा नं ४ मा ६०० रोपनी, वडा नं ५ मा ५०० रोपनी र वडा नं ६ मा ३०० रोपनीमा क्षति पुगेको विवरण छ। आलु, तोरी, सस्र्यु, केराउ, मकै, सुन्तला र बोधिचित्तका फूल तथा चिचिला नष्ट भएका छन् भने कागती, तरकारी र फलफूलका बिरुवामा पनि व्यापक क्षति भएको गाउँपालिकाले जनाएको छ।

यसैबीच, सोही वर्षाले धुलिखेल नगरपालिका–१० र १२ नं वडाका कृषि बालीमा पुगेको क्षति तथा अन्य वडाको क्षतिको विवरण भने आउन बाँकी रहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख कुलप्रसाद दवाडीले कृषकलाई राहत दिन प्रदेश सरकारसँग समन्वय भइरहेको बताए। काभ्रेपलाञ्चोकका सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि र प्राविधिकसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी एकीन विवरण सङ्कलन गर्न वडा कार्यालयलाई सुझाव दिएको छ। सांसद चौलागाईंले पीडित कृषकलाई भेदभावरहित राहत उपलब्ध गराउन पहल गर्ने र संसद्मा समेत विषय उठाउने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button