एमाले सचिवालय बैठक सोमबारलाई सारियो

काठमाडौं । आजका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक आगामी सोमबार बस्ने गरी सारिएको हो। सोमबारको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा बस्ने तय भएको छ।
आइतबार पर्ने मदन–आश्रित स्मृति दिवसको विशेष तयारी गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको अधिकारीले जानकारी दिए। मदन–आश्रित स्मृति दिवस एमालेले हरेक वर्ष जेठ ३ गते तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा मनाउँदै आएको छ।
सोमबार बस्ने बैठकमा पार्टीको आन्तरिक कार्यविभाजन, संगठनात्मक विषय तथा गत फागुन २१ गते भएको निर्वाचनको समीक्षा हुने बताइएको छ।
उक्त निर्वाचनमा एमालेले अपेक्षाअनुसार नतिजा ल्याउन नसकेको भन्दै पार्टीभित्र नेतृत्व तहबाट समीक्षा हुनुपर्ने आवाज उठ्दै आएको छ। निर्वाचन परिणामपछि संगठन सञ्चालन, नेतृत्वको भूमिका र आगामी रणनीतिबारे एमालेभित्र छलफल बढेको छ।
बैठकमा सचिवालय सदस्यहरूले निर्वाचन समीक्षा, पार्टी पुनर्संरचना, जिम्मेवारी बाँडफाँट र आगामी राजनीतिक कार्यदिशाबारे धारणा राख्ने अपेक्षा गरिएको छ।





