प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की, कारबाही अघि बढाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी दैलेखका एक वडा सचिवलाई धम्की दिएको घटनाप्रति प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काको नाम गरेका व्यक्तिले फोन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै आफ्नो काम गरिदिन दबाब र धम्की दिएको अडियो सार्वजनिक भएको थियो।
सोही घटनाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खड्का प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित व्यक्ति नभएको स्पष्ट पारेको छ। कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा सरकारी कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, अपमानजनक शब्द प्रयोग गर्ने र भय सिर्जना गर्ने गतिविधि पूर्णतः निन्दनीय र अस्वीकार्य रहेको उल्लेख छ।
प्रधानमन्त्री कार्यालयले उक्त घटनामा संलग्न खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई कडा निर्देशन दिइएको जनाएको छ।
विज्ञप्तिमा सम्माननीय प्रधानमन्त्री सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलको पक्षमा दृढ रहेको उल्लेख गरिएको छ। कार्यालयले विधिको शासनलाई चुनौती दिने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता पनि जनाएको छ।
प्रधानमन्त्री कार्यालयले कुनै पनि व्यक्तिले निजी स्वार्थपूर्तिका लागि प्रधानमन्त्री, उनको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिएर फोन, सन्देश वा अन्य माध्यमबाट धम्की दिने, माग गर्ने वा नाजायज दबाब सिर्जना गर्ने कार्य गरेमा त्यसबारे तत्काल नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री कार्यालयमा जानकारी गराउन सबैमा अपिल गरेको छ।
साथै, आगामी दिनमा यस्ता प्रकृतिका सम्भावित दुरुपयोग र प्रभावबाट बच्न प्रधानमन्त्री कार्यालय वा सचिवालयको नाम जोडेर आउने कुनै पनि शङ्कास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट अनिवार्य रूपमा प्रमाणीकरण गरेर मात्र कामकारबाही अघि बढाउन सरकारी निकाय, स्थानीय तह र राष्ट्रसेवक कर्मचारीहरूलाई विशेष आग्रह गरिएको छ।
प्रधानमन्त्री कार्यालयले राज्यको प्रशासनिक गरिमा अक्षुण्ण राख्न र संस्थागत साखमा आँच आउन नदिन आफू सजग र प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।






