फोन धम्की प्रकरण: ‘जेन्जी अभियन्ता’ खड्का पक्राउ, अध्यक्ष रहेको पार्टीसमेत भेटियो

दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई आफूलाई ‘जेन्जी अभियन्ता’ भन्दै प्रधानमन्त्री कार्यालयको हवाला दिएर धम्क्याउने प्रकाश खड्काको थप परिचय खुलेको छ। उनी सत्तारूढ रास्वपाको कार्यकर्ता मात्र नभई छुट्टै दलका अध्यक्षसमेत रहेको पाइएको हो।
सचिव भण्डारीलाई धम्की दिएको फोनवार्ता सामाजिक सञ्जालमा भाइरल भएपछि रास्वपा सुर्खेत जिल्ला कमिटीले खड्कालाई कारबाही सिफारिस गरिसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालले खड्कामाथि कारबाही अघि बढाउन प्रेस विज्ञप्ति जारी गरेलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ।
यसैबीच, रास्वपा कार्यकर्ताका रूपमा चिनिएका खड्का नेपाल जनसेवा पार्टीका अध्यक्ष रहेको तथ्य फेला परेको छ। निर्वाचन आयोगको अभिलेख अनुसार उनले गत मङ्सिर ११ गते सेतो र कालो जुत्ता चुनाव चिह्न लिएर पार्टी दर्ता गराएका थिए। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिकाको रानीबारीमा रहेको र उपाध्यक्षमा टेकेन्द्र उपाध्याय रहेको विवरणमा उल्लेख छ।
गत फागुन २१ को निर्वाचनमा खड्काको पार्टीले भक्तपुर क्षेत्र नम्बर २ बाट शोभा पाठकलाई एमाले सचिव महेश बस्नेतविरुद्ध उम्मेदवार बनाएको थियो। रास्वपाका राजिव खत्रीले जितेको सो क्षेत्रमा पाठकले जम्मा १९ मत प्राप्त गरेकी थिइन्।
उता, सल्यानमा पनि सुधन गुरुङ निकट ‘जेन्जी’ भन्दै स्थानीय पालिकाहरूसँग नगद नारायण जिन्दावाद गर्ने युवराज खड्काविरुद्ध मेयरहरूको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।





