१८ असार २०८३, बिहीबार

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध अमेरिकाबाट पूर्वसैनिक अधिवक्ताको उजुरी

काठमाडौँ। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा थप उजुरी परेको छ। अमेरिकामा बस्दै आएका नेपाली सेनाका पूर्वमेजर एवम् अधिवक्ता प्रज्वल बस्नेतले शर्मामाथि छानबिनको माग गर्दै इमेलमार्फत उजुरी दर्ता गराएका हुन्।

बस्नेतले शर्माको योग्यता र न्याय सम्पादनसम्बन्धी धारणा बुझ्न समितिको ध्यानाकर्षण गराएको बताएका छन्। उनका अनुसार सर्वोच्च अदालतले दर्ता नै अस्वीकार गरेको एउटा रिट निवेदन प्रस्तावित प्रधानन्यायाधीश शर्मासमेतको संयुक्त इजलासमा पेसी चढेको थियो। तर, शर्माले ‘हेर्न नभ्याइने’ भन्दै उक्त निवेदन हटाइदिएका थिए। पटकपटक सुनुवाइको आग्रह गर्दा समेत मौनता साँधिएको बस्नेतको भनाइ छ।

निवेदनमा भनिएको छ, ‘सर्वोच्च अदालतले दर्ता नै इन्कार गरेको निवेदकको उपरोक्त रिट निवेदन प्रस्तावित प्रधानन्यायाधीशसमेतको संयुक्त इजलासबाट हेर्न नभ्याइने भनी एकपटक हटाइएको र निवेदकले पटकपटक गरेको सार्वजनिक अनुरोधउपर न्यायाधीशको हैसियतमा प्रस्तावित प्रधानन्यायाधीशको मौनताका कारण न्यायमा विचलन भएको सम्बन्धमा न्यायपालिका प्रमुखको अग्निपरीक्षाका प्रस्तावित उम्मेदवारको धारणा र योजना महत्त्वपूर्ण हुने विश्वास लिएको छु।’

बस्नेतले शर्मासँग जोडिएर समितिलाई केही गम्भीर प्रश्नसमेत सोधेका छन्। ‘के उनले अदालतमा भएका १५ वर्ष पुराना आदेश कार्यान्वयनमा लैजान सक्छन्? न्याय सम्पादनमा न्यायाधीशहरूबाट भएको अवरोध तथा आदेश अवहेलनाको विषयलाई किनारा लगाउन सक्छन्? सैनिक अदालतका न्यायाधीश र प्रधानसेनापतिको हेलचेक्र्याइँले कैद भुक्तान गरिरहेकालाई न्याय दिन सक्छन्?’ लगायत विषयमा अध्ययन गर्न उनले समितिसँग आग्रह गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। उनीविरुद्ध पर्सिसम्म उजुरी आह्वान गरिएको समितिले जनाएको छ। भौतिक उपस्थिति, हुलाक वा इमेलमार्फत उजुरी पठाउन सकिने समितिको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button