चार घण्टाभन्दा पुरानो राइस कुकरको खाना : ब्याक्टेरियाको प्रजनन केन्द्र बन्दै, क्यान्सरको जोखिम

के तपाईं पनि बिहान पकाएको खाना साँझ राइस कुकरमै तताएर खानुहुन्छ? अनजानमा तपाईंले ‘ब्याक्टेरिया पालन’ गरिरहनुभएको हुनसक्छ। सिचुवान क्यान्सर अस्पतालका क्लिनिकल न्युट्रिसन विभाग प्रमुख डाक्टर जोङ जुजुनका अनुसार राइस कुकरमा चार घण्टाभन्दा बढी राखिएको खाना ब्याक्टेरियाको उर्वरभूमि मात्र होइन, क्यान्सरको कारकसमेत बन्नसक्छ।
विश्व स्वास्थ्य सङ्गठनले खानाका लागि ‘खतराको तापक्रम’ ५ देखि ६० डिग्री सेल्सियस तोकेको छ। यही तापक्रममा हानिकारक ब्याक्टेरिया सबैभन्दा तीव्र गतिमा वृद्धि हुन्छन्। राइस कुकरको ‘वार्म’ मोड सामान्यतया ६० देखि ७० डिग्रीमा रहन्छ। तर माथिल्लो भागको खाना हावाको सम्पर्कले ६० डिग्रीभन्दा तल झर्छ, जो खतरा क्षेत्रभित्र पर्छ। त्यसमाथि भात वा तरकारीमा चम्चा वा हातले छुँदा स्ट्याफिलोकोकस, साल्मोनेला जस्ता ब्याक्टेरिया प्रवेश गर्छन्। उपयुक्त तापक्रम पाएमा यिनीहरू हरेक २० मिनेटमा दोब्बर हुनसक्छन्। यस्तो खाना खाँदा पेट दुख्ने, पखाला लाग्ने मात्र होइन, गम्भीर अवस्थामा आन्द्राको सङ्क्रमण र वान्ता हुनसक्छ।
अझ भयावहरु पक्ष त के छ भने हरियो सागसब्जीमा प्राकृतिक रूपमा पाइने नाइट्रेट र नाइट्राइटले सामान्यतया हानि गर्दैन। तर लामो समय तापमा राख्दा ब्याक्टेरियाले यिनलाई नाइट्रोसेमाइनमा परिणत गर्छ, जसलाई विश्व स्वास्थ्य सङ्गठनले क्यान्सर कारकको रूपमा वर्गीकृत गरेको छ। यसले कलेजो, पेट र आन्द्राको क्यान्सरसँग प्रत्यक्ष सम्बन्ध राख्छ। एकै पटकको सेवनले भन्दा पनि लामो समयसम्म यस्तो बानी रहिरहँदा कलेजोमा विषाक्त तत्व जम्मा हुँदै गम्भीर रोगको जोखिम निम्त्याउँछ।
विज्ञको सुझाव स्पष्ट छ : राइस कुकरमा ‘वार्म’ गरेर राखिएको खाना चार घण्टाभित्र खाइसक्नुपर्छ। यदि अनुमानभन्दा बढी भयो भने फ्रिजमा राखेर चिसो पार्नुपर्छ। ‘ब्याक्टेरिया पालन’ को भाँडो नबनाऔँ, सचेत रहौँ।





