खजुरा रिसोर्टमा छापा : १३ जुवाडे पक्राउ, सवा लाख नगद बरामद

बाँके। खजुरा गाउँपालिका–४ स्थित खजुरा मिनिपार्क एन्ड रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार राति करिब साढे १ बजे इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले रिसोर्टको कोठा नम्बर १०५ मा छापा मारेको थियो। हारजित हुने गरी जुवातास खेलिरहेका उनीहरूलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले जुवाखालबाट नगद १ लाख २८ हजार ३१० रुपैयाँ, खोलेको तास २ गड्डी र नखोलेको तास ३ गड्डी बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा बाँकेका प्रमोद केसी, एकराम हुसेन, दीपक कडेल, अब्दुल मियाँ, सफिक खाँ, नबी हुसेन, जमालु दिन, साकिर अली बागवान तथा बर्दियाका दुर्गा बोहरा, छबिलाल गिरी, सुजन पुरी, नविन शाही र प्रेम गिरी रहेका छन्।





