देशव्यापी प्रहरी कारबाही : लागुऔषधसहित २६ जना पक्राउ

काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँलगायत विभिन्न जिल्लाबाट उनीहरू पक्राउ परेका हुन्।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाउँबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १२ ग्राम ६४० मिलिग्रामसहित शुक्रबार सात जना पक्राउ परे। पक्राउ पर्नेहरूमा अनिल केसी, बसन्त तिमल्सिना, विक्रम ठकुरी, प्रज्वल मैनाली, देवेन्द्र अर्याल, प्रशान्त राई र पेम्बा तामाङ रहेका छन्।
मोरङको पथरीशनिश्चरे–८ बाट ट्रामाडोल २२१० ट्याब्लेट र स्पास्पेन २३२० ट्याब्लेटसहित सुशन राई पक्राउ परे। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ बाट स्पास्मो ४८० ट्याब्लेटसहित बर्कत अली समातिए।
झापाको कनकाई–५ बाट ब्राउनसुगरजस्तो पदार्थ ११ ग्राम ९७० मिलिग्रामसहित जीतबहादुर लिम्बु र प्रदीप रसाइली पक्राउ परे। कैलालीको गोदावरी–२ स्थित आरबी होटलबाट सञ्चालक तिलकबहादुर वलीसहित चार जना, टीकापुर–९ बाट दुई जना र सोही स्थानबाट थप तीन जना तथा कञ्चनपुरको कृष्णपुर–५ बाट तीन जना खैरो हेरोइनसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
यस्तै, सुनसरीको इटहरी–४ बाट ब्राउनसुगरसहित एक जना, धनकुटाको साँगुरीगढी–३ बाट ९२ किलो गाँजासहित विष्णु याखा र मकवानपुरको हेटौँडा–१० बसपार्कबाट २१ किलो ३१० ग्राम गाँजासहित पर्साका लक्चन हजरा पक्राउ परेका छन्। सबै पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





