खड्काको टिप्पणी : गगन सानेपाको मात्रै सभापति बने

सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापा अझै सिंगो कांग्रेसको सभापति बन्न नसकेको टिप्पणी गरेका छन्।
शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै खड्काले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी वर्तमान नेतृत्वको काँधमा रहेको बताए।
खड्काले केही दिनअघि आफूलाई भेट्न आएका सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासँग पार्टीको अवस्थाबारे स्पष्ट कुरा राखेको उल्लेख गरे। उनले थापालाई सिंगो पार्टीको सभापति बन्न सुझाव दिएको बताए।
“पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जानु हुँदैन भन्छु,” भेटका क्रममा आफूले राखेको धारणा स्मरण गर्दै खड्काले भने, “तर पार्टी मिलाउने कि फुटाउने भन्ने जिम्मा तपाईंहरूको हो भनेको छु।”
उनले अदालतको निर्णयपछि आफूहरूले पनि थापालाई सभापति मानेको बताए। यद्यपि, व्यवहारमा थापा अझै सानेपाको मात्र सभापति भएको उनको टिप्पणी थियो।
खड्काले विशेष महाधिवेशनकै कारण कांग्रेस कमजोर बनेको दाबी पनि गरे। उनका अनुसार विशेष महाधिवेशनको असर निर्वाचन परिणाममा देखिएको हो।
“विशेष महाधिवेशनका कारण कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाइ नजिक पुग्यो। त्यो नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो,” खड्काले भने।
कार्यक्रममा खड्काले कांग्रेसभित्र बृहत्तर एकता, संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशाबारे गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे।





