१८ असार २०८३, बिहीबार

गुठी जग्गाको अभिलेख कमजोर, अतिक्रमण बढ्दो

काठमाडौं । गुठी संस्थानसँग जिल्लागत जग्गाको अद्यावधिक अभिलेख नरहेको महालेखा परीक्षकको ६३औँ प्रतिवेदनले औँल्याएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनको सारांशमा संस्थानसँग जिल्लागत अभिलेख नहुँदा गुठीको नाममा रहेको कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको उल्लेख छ। प्रतिवेदनले संस्थानको नाममा रहेका जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी संरक्षण र उपयोगको प्रभावकारी व्यवस्था मिलाउन सुझाव दिएको छ।

प्रतिवेदनअनुसार गुठी संस्थानको जग्गामध्ये धनुषामा ४३.५ बिघा, महोत्तरीमा १२२ बिघा, बारामा २७ बिघा, पर्सामा ७ बिघा अतिक्रमणमा परेको छ। त्यस्तै काठमाडौंमा १४ रोपनी, ललितपुरमा १२ रोपनी र भक्तपुरमा २ रोपनी गुठी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ।

महालेखाले संस्थानले अतिक्रमित जग्गाको पूर्ण लगत तयार नगरेको भन्दै तत्काल एकीकृत तथा अद्यावधिक लगत तयार गर्न सुझाव दिएको छ। अन्य जिल्लामा अतिक्रमण भएको हुन सक्ने जग्गाको पहिचान गरी संरक्षणको व्यवस्था गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ।

गुठी संस्थान कार्यव्यवस्था विनियम, २०४९ को विनियम १७(१) मा अधिकार क्षेत्रभित्रको जग्गासम्बन्धी छुट्टै लगत तयार गरी अद्यावधिक गर्नुपर्ने व्यवस्था छ। तर संस्थानले सो व्यवस्थाअनुसार व्यवस्थित अभिलेख राख्न नसकेको महालेखाले औँल्याएको हो।

प्रतिवेदनका अनुसार संस्थानअन्तर्गत विभिन्न ६८ जिल्लामा पहाडतर्फ पाँच लाख ६१ हजार ९९० रोपनी र तराईतर्फ ६६ हजार ३२० बिघा जग्गा गुठीको नाममा रहेको उल्लेख छ। यद्यपि जिल्लागत तथा कार्यालयगत अभिलेख स्पष्ट नभएकाले वास्तविक अवस्था र उपयोगबारे थप अद्यावधिक विवरण आवश्यक देखिएको छ।

महालेखाले गुठी जग्गा धार्मिक, सांस्कृतिक र सामाजिक सम्पदासँग जोडिएको विषय भएकाले यसको संरक्षण, व्यवस्थापन र उपयोगमा संस्थागत सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button