हेल्दुङमा प्राविधिक समस्या, सिमकोटसहित दुई पालिकामा विद्युत अवरुद्ध

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ।
हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत आपूर्ति बन्द भएको हो। विद्युत सेवा अवरुद्ध हुँदा दुवै पालिकाका विभिन्न गाउँ तथा बस्ती अन्धकारमय बनेका छन्।
वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहका अनुसार आयोजनाको मुख्य नियन्त्रण प्रणालीमा खराबी आएपछि केन्द्रबाट आपूर्ति हुँदै आएको सम्पूर्ण विद्युत सेवा बन्द गरिएको हो। उक्त समस्याका कारण विद्युत उत्पादन तथा आपूर्ति प्रणाली प्रभावित भएको उनले जानकारी दिए।
समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको छ। मर्मतकार्य पूरा नभएसम्म विद्युत सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रमुख शाहले बताए।
विद्युत सेवा बन्द हुँदा सिमकोट र खार्पुनाथ क्षेत्रका करिब दुई हजार पाँच सय उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन्। विशेषगरी रातिको समयमा विद्युत नहुँदा सञ्चार, इन्टरनेट, खानेपानी, साना उद्योग–व्यवसाय तथा दैनिक जनजीवनमा असर परेको छ।
वितरण केन्द्रले उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ। साथै, विद्युत सेवा पुनः सञ्चालन नभएसम्म विद्युतीय उपकरण सुरक्षित रूपमा प्रयोग गर्न र अनावश्यक जोखिम नलिन अनुरोध गरेको छ।





