१८ असार २०८३, बिहीबार

मदन–आश्रित स्मृति दिवसमा ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको विचार तथा योगदान नेपाली राजनीतिक यात्राका लागि दीपस्तम्भ रहेको बताएका छन्।

मदन–आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले दासढुंगा घटनामा जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमाएको स्मरण गरेका हुन्।

ओलीले समय बित्दै गए पनि उनीहरूको अभाव झन् गहिरिँदै गएको उल्लेख गरे। उनले मदन भण्डारीलाई आफ्नो नेता, साथी र सहयोद्धाका रूपमा स्मरण गर्दै आश्रितलाई कुशल संगठकका रूपमा चित्रण गरेका छन्।

उनका अनुसार मदन भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवादका अगुवा थिए। ओलीले जनताको बहुदलीय जनवादलाई युगअनुरूप परिष्कृत मौलिक विचार, आन्दोलनलाई बलियो आवाज दिने आधार र परिवर्तनको सपना जनताको जीवनमा पुर्‍याउने मार्गचित्रका रूपमा व्याख्या गरेका छन्।

ओलीले यही वैचारिक आधारलाई एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानका रूपमा अघि बढाएको उल्लेख गरे। पछिल्लो दशकमा उक्त अभियानले मानवीय तथा भौतिक पूर्वाधार विकासमा परिवर्तन ल्याउन थालेको उनको भनाइ छ।

मदन भण्डारी, जीवराज आश्रित तथा आन्दोलनले जन्माएका अग्रज र योद्धाहरू शारीरिक रूपमा आज उपस्थित नभए पनि उनीहरूको विचार र योगदान राजनीतिक यात्रामा मार्गदर्शक रहेको ओलीले बताएका छन्।

उनले जनताको बहुदलीय जनवादलाई एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभई यथार्थको धरातलमा उभिएको विचार भएको बताए। ओलीका अनुसार मदन भण्डारीलाई सम्झँदा केवल नेता वा मित्र गुमाएको पीडा मात्र नभई एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ।

ओलीले मदन–आश्रितप्रति हार्दिक श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दै उनीहरूको वैचारिक विरासतले जनताको पक्षमा निरन्तर उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरणा दिइरहेको बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button