प्रेस चौतारीमा विवाद चर्कियो, विशेष महाधिवेशनको तयारी

काठमाडौं । एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ।
चौतारीका वरिष्ठ उपाध्यक्ष चेतन अधिकारीको अध्यक्षतामा काठमाडौंमा बसेको सचिवालय बैठकले वर्तमान अध्यक्ष गणेश पाण्डे संगठनको नेतृत्व गर्न असफल भएको निष्कर्ष निकाल्दै विशेष महाधिवेशनतर्फ जाने निर्णय गरेको हो।
जेठ १ गते काठमाडौंको अर्याल होटलमा दिनभर विवाद भएपछि साँझदेखि राति १२ बजेसम्म चलेको बैठकले अध्यक्ष पाण्डेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संगठनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।
बैठकले अध्यक्ष पाण्डेले संगठनलाई विधिसम्मत रूपमा सञ्चालन गर्न नसकेको, केन्द्रीय समितिको बैठक लामो समयसम्म नबोलाएको, संगठनलाई सन्तुलित र व्यवस्थित बनाउन नसकेको तथा आर्थिक र सांगठनिक व्यवस्थापन कमजोर बनाएको आरोप लगाएको छ। बैठकमा पाण्डेको नेतृत्व असक्षम भएको भन्दै ७ बुँदे आरोपपत्रसमेत तयार गरिएको बताइएको छ।
चौतारीका एक सचिवालय सदस्यका अनुसार आगामी सचिवालय र केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशनको स्वरूप, प्रक्रिया र मिति तय गर्नेछ।
बैठकमा पदाधिकारी हिरामान लामा, हरिवल्लभ नेपाल, प्रदीप आचार्य, विक्रम लुइँटेल तथा विदेशमा रहेकी उपाध्यक्ष कृपा भण्डारीले अध्यक्ष पाण्डेको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष अधिकारीले गरेका थिए। सचिव नरेश भण्डारी अध्यक्ष पाण्डेको पक्षमा उभिएको र अर्का सचिव विष्णु तारुके तटस्थ देखिएको सहभागीहरूले बताएका छन्।
बैठकमा सहभागी एक नेताका अनुसार संगठनका ९ मध्ये ८ जना प्रदेश इन्चार्ज तथा अधिकांश सचिवालय सदस्य अध्यक्ष पाण्डेको विपक्षमा उभिएका छन्। यसपटक विवादका कारण उपस्थित १६ जना सचिवालय सदस्यले निर्णय प्रमाणित गर्ने स्थानमै हस्ताक्षर गरेका छन्।
यसैबीच, विवाद समाधानका लागि अध्यक्ष पाण्डे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पुगेका थिए। शनिबार राति भएको छलफलमा सचिवालय सदस्य प्रतिमा सिलवालले पाण्डेलाई अब अध्यक्षका रूपमा स्वीकार गर्न नसकिने र दबाब दिइए देशभरका महिला पत्रकारहरूले राजीनामा दिने चेतावनी दिएको सहभागीहरूले बताएका छन्।
विवाद सुनेपछि एमाले अध्यक्ष ओलीले बैठकबाट सर्वसम्मत रूपमा अघि बढेको विषयलाई आधार मानेर समाधान खोज्न सुझाव दिएको बताइएको छ। ओलीले अध्यक्षलाई बाहिर राखेर समस्या समाधान नहुने भन्दै विवाद मिलाएर कार्यतालिका बनाई महाधिवेशनमा जान आग्रह गरेको स्रोतको भनाइ छ। तर असन्तुष्ट पक्षले पाण्डेलाई आयोजक समितिको संयोजक मानेर महाधिवेशनमा जान नसकिने अडान लिएको छ।
पार्टीसँग समन्वय र छलफलका लागि एमाले नेताहरू भानुभक्त ढकाल र मीनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।
प्रेस चौतारीका सचिव विक्रम लुइँटेलले संगठनलाई संस्थागत ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए। “अब चौतारीमा सबै साथीहरूले निर्धक्कसँग आफ्ना कुरा राख्न सक्ने वातावरण बनेको छ, कोही पनि थिचोमिचोमा पर्नु पर्दैन,” लुइँटेलले भने, “संस्थागत ढंगले चौतारीलाई अगाडि बढाउने सुखद सुरुवात भएको छ।”
प्रेस चौतारीभित्र देखिएको पछिल्लो विवादले संगठनको आगामी नेतृत्व, विशेष महाधिवेशनको प्रक्रिया र एमालेसँगको समन्वयलाई थप चासोको विषय बनाएको छ।





