‘सरकारको नियत राम्रो देखिएन’ : सदन छलेर अध्यादेश ल्याउनु लाजमर्दो भन्दै प्रचण्डको आक्रोश

वीरेन्द्रनगर (सुर्खेत) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार र देशको राजनीति सही दिशामा अगाडि नबढेको बताएका छन्। आइतबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकाले समर्थन गर्न नसकिने स्पष्ट पारे।
प्रचण्डले सुकुम्बासी समस्या, ट्रेड युनियन र विद्यार्थीसँग सम्बन्धित विषयहरू अझै गम्भीर अवस्थामै रहेको बताए। “सुकुम्बासीहरूको समस्या समाधान भएको छैन, त्यो अहिले पनि गम्भीर प्रकृतिकै समस्याको रूपमा छँदैछ। ट्रेड युनियन र विद्यार्थीसँग सम्बन्धित विषयहरू पनि गम्भीर छँदै छन्,” उनले भने। संविधान संशोधनका लागि सरकारले तयार पार्ने भनिएको बहस पत्र पनि पारदर्शी रूपमा अगाडि नआएको उनको भनाइ छ।
प्रचण्डले अध्यादेश ल्याउनेदेखि सबै हिसाबले प्रधानमन्त्री बालेन शाहको नियत राम्रो नदेखिएको आरोप लगाए। “आफैंले सदन बोलाउने, आफ्नो झन्डै दुई–तिहाइ छ, नियमित प्रक्रियाबाटै विधेयकहरू ल्याउन सकिन्छ। त्यो बाटो छोडेर सदनलाई छलेर अध्यादेशको बाटो जानु लाजमर्दो कुरा पनि हो,” उनले भने, “त्यसको पनि हामीले प्रतिवाद गरिनै राखेका छौं।”
सुरुमा सरकारका मोटामोटी धेरै कुरा ठिकै लागे पनि गतिविधिहरू अगाडि बढ्दै जाँदा समर्थन गर्न सकिने केही नदेखिएको उनको भनाइ छ। “बरु विरोध गर्नुपर्ने, प्रतिवाद गर्नुपर्ने, जनताको तहबाट पनि आवाज उठाउनुपर्ने धेरै कुरा देखिन गएका छन्,” प्रचण्डले थपे। उनले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र परिमार्जनका लागि सरकारले राम्रो काम गर्दा रचनात्मक सहयोग गर्ने बताउँदै सरकारले यी कुरालाई गम्भीर रूपमा नलिए सबैतिरबाट प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए। “मैले त सदनमा सरकारलाई अलिकति सतर्क हुनका लागि सुझाव दिएको छु,” उनले भने।





