१८ असार २०८३, बिहीबार

रास्वपाको पहिलो महाधिवेशन असारमा चितवनमा हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने तयारी अघि बढाएको छ।

महाधिवेशनलाई लक्षित गर्दै पार्टीले आयोजक तथा सहायक कमिटीहरू गठन गर्ने प्रक्रिया अघि बढाएको छ। छोटो समयमै महाधिवेशन गर्न लागिएको भए पनि व्यवस्थापन, प्रतिनिधि परिचालन र संगठनात्मक तयारी तीव्र पारिएको रास्वपा स्रोतले जनाएको छ।

पार्टीभित्र आर्थिक व्यवस्थापनका लागि सांसद, मन्त्री तथा विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीबाट नियमित लेबी संकलन हुँदै आएको बताइएको छ। पार्टी स्रोतका अनुसार सांसद, मन्त्री र विभिन्न सांगठनिक जिम्मेवारीमा रहेका व्यक्तिबाट संकलन हुने रकम महाधिवेशन व्यवस्थापनको प्रमुख स्रोत बन्नेछ।

रास्वपाले संगठन विस्तारसँगै र्‍यापिड एक्सन टिम पनि सक्रिय बनाएको छ। पार्टी नेताहरूका अनुसार ७७ जिल्लामा संरचना बनाइएको उक्त टिममा दुई हजारभन्दा बढी व्यक्ति आबद्ध छन्। टिममा अधिकांश युवा रहेको र आवश्यकताअनुसार संगठनात्मक तथा कार्यक्रमगत काममा परिचालन गरिने रास्वपा नेताहरूको भनाइ छ।

पार्टीको आर्थिक पाटो हेर्ने जिम्मेवारी कोषाध्यक्ष लिमा अधिकारीसँग रहेको बताइएको छ। पार्टीभित्र कोष व्यवस्थापन, संगठन विस्तार र महाधिवेशन तयारीलाई आन्तरिक रूपमा व्यवस्थित बनाउने प्रयास भइरहेको स्रोतले जनाएको छ।

महाधिवेशनबाट सभापति चयनसहित केन्द्रीय संरचना पुनर्गठन हुने भएकाले रास्वपाभित्र आगामी नेतृत्व समीकरणबारे पनि चासो बढेको छ। सभापति रवि लामिछाने महाधिवेशनबाट पुनः नेतृत्वमा आउने सम्भावना बलियो रहेको उनीनिकट नेताहरूको दाबी छ।

सरकारमा रास्वपाका तर्फबाट सीमित प्रभावशाली अनुहार सहभागी भए पनि पार्टी नेतृत्वले महाधिवेशनपछि संगठन र राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका थप सुदृढ बनाउने तयारी गरेको स्रोतको भनाइ छ। प्रधानमन्त्री बालेन शाहलाई पार्टीको वरिष्ठ नेताका रूपमा नै अघि बढाउने रास्वपा नेतृत्वनिकट समूहको आन्तरिक बुझाइ रहेको बताइएको छ।

यसैबीच, सभापति रवि लामिछाने भारत जाने तयारीमा रहेको रास्वपा स्रोतले जनाएको छ। संवैधानिक निकायका रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढेपछि लामिछाने भारत जाने र फर्किएपछि महाधिवेशन केन्द्रित कार्यक्रममा सक्रिय हुने स्रोतको दाबी छ।

रास्वपाको पहिलो महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना, सरकारसँगको सम्बन्ध, युवा परिचालन र आगामी राजनीतिक दिशाबारे स्पष्टता दिने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button