६ असार २०८३, शनिबार

कोरोला नाकाबाट भित्रिएको ५९० कार्टुन चिनियाँ भेपसहित तीन पक्राउ

मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ५९० कार्टुन चिनियाँ विद्युतीय चुरोट (भेप) सहित तीन जना पक्राउ परेका छन्। कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले जेठ १ गते राति दुईवटा ट्रकसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा धादिङको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा छन्। ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा उनीहरू सामान लिएर आउँदै गर्दा पक्राउ परेका हुन्।

प्रहरीले विद्युतीय भेपसहित २५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, आठ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ केजी खाली कार्टुन बक्ससमेत नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयलाई बुझाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button