६ असार २०८३, शनिबार

मैदान विवादले अशोक स्मृति कपको फाइनल स्थगित

खजुरा (बाँके) । खजुरा गाउँपालिका–४ डीगाउँस्थित नेपाल राष्ट्रिय आदर्श प्राथमिक विद्यालयको खेल मैदान प्रयोगसम्बन्धी विवाद चर्किएपछि अशोक स्मृति कप २०८३ को फाइनल खेल स्थगित भएको छ।

आयोजक पक्षले आज फाइनल खेल सञ्चालन गर्ने तयारी गरे पनि न्यू डाँफे स्पोर्ट्स क्लबका खेलाडी तथा पदाधिकारीले मैदानमा अवरोध सिर्जना गरेको आरोप लागेको छ। उनीहरूले उक्त खेल मैदान आफ्नो क्लबको भएको दाबी गर्दै खेल सञ्चालन गर्न नदिएको आयाेजकले जनाएको छ।

आयाेजकका अनुसार डीगाउँस्थित नेपाल राष्ट्रिय आदर्श प्राथमिक विद्यालयको खेल मैदानलाई स्थानीय न्यू डाँफे स्पोर्ट्स क्लबले लामो समयदेखि आफ्नो अनुकूल प्रयोग गर्दै आएको छ। विद्यालयसँग कुनै औपचारिक सम्झौता वा स्वीकृति नभई सरकारी जग्गा तथा खेल मैदान निजी प्रकृतिमा प्रयोग गरिएको भन्दै क्लबले यसबारे सम्बन्धित निकायमा उजुरी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

सोही खेल मैदानमा केही वर्षअघि सरकारी बजेटबाट मिनी रंगशाला निर्माण गरिएको थियो। सरकारी लगानीबाट बनेको संरचना कुनै एक क्लब वा समूहले निजी स्वामित्वको रूपमा दाबी गर्नु कानुनी तथा संस्थागत रूपमा प्रश्नयोग्य हुने ब्रदर्स एफसीको भनाइ छ।

ब्रदर्स एफसीले उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित सरकारी निकायमा छानबिन र आवश्यक कारबाहीका लागि पहल गर्ने तयारी गरेको जनाएको छ। क्लबले सरकारी वा सार्वजनिक प्रकृतिको खेल मैदान सबै खेलाडी, क्लब र समुदायका लागि समान रूपमा खुला हुनुपर्ने धारणा राखेको छ।

आज बिहान आयोजक नेतृत्व तिलकविर सुनार र न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीबीच मैदान र प्रतियोगिता सञ्चालनसम्बन्धी विषयमा चर्काचर्की भएको बताइएको छ। विवाद बढ्दै जाँदा हात हालाहालसम्मको अवस्था सिर्जना भएको स्रोतले जनाएको छ।

ब्रदर्स एफसीका अनुसार यसअघि न्यू डाँफे स्पोर्ट्स क्लबका एक खेलाडीको उमेरसम्बन्धी विवादमा प्रमाणसहित उजुरी परेपछि आयोजकले छानबिन गरेको थियो। छानबिनपछि आरोप पुष्टि भएको भन्दै आयोजकले न्यू डाँफेलाई प्रतियोगिताबाट बाहिर गर्ने निर्णय गरेको थियो।

तर आयोजकको निर्णयपछि पनि न्यू डाँफे स्पोर्ट्स क्लबले आफ्नो सामाजिक सञ्जालमार्फत आफूले खेल जितेको दाबी गरेको आरोप छ। त्यसपछि निर्धारित समय अगावै मैदानमा पुगेर खेल सञ्चालनमा अवरोध गरिएको जनाइएको छ।

आयोजकले सम्भावित तनाव र हिंसात्मक घटना हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आज हुने भनिएको फाइनल खेल स्थगित गरेको छ। फाइनल खेलको नयाँ मिति, समय र स्थानबारे आयोजकले आवश्यक छलफलपछि जानकारी दिने अपेक्षा गरिएको छ।

प्रतियोगितामा देखिएको उमेर विवाद, रेफ्री विवाद र खेल मैदान प्रयोगसम्बन्धी पछिल्लो तनावले अशोक स्मृति कपको व्यवस्थापन, खेल अनुशासन र सार्वजनिक खेल पूर्वाधारको उपयोगबारे गम्भीर प्रश्न उठाएको छ। स्थानीय खेलकुद सरोकारवालाहरूले प्रतियोगिताको निष्पक्षता, खेलाडीको सुरक्षा र सार्वजनिक मैदानको समान पहुँच सुनिश्चित गर्न आयोजक तथा स्थानीय प्रशासनले स्पष्ट निर्णय लिनुपर्ने बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button