१८ असार २०८३, बिहीबार

रक्सौल–वीरगञ्ज मितेरी पुलबाट चिनियाँ नागरिक पक्राउ

वीरगञ्ज । भारतीय सशस्त्र सीमा बल ९एसएसबी० को ४७ औँ बाहिनीले रक्सौल–वीरगञ्ज मितेरी पुल क्षेत्रबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

सुरक्षा निकायका अनुसार अस्ति शुक्रबार दिउँसो नियमित जाँच अभियानका क्रममा भारत प्रवेश गर्न खोजिरहेका ५७ वर्षीय चिनियाँ नागरिक याओ सुझाङ पक्राउ परेका हुन्। उनका पिता या सो ची रहेको र उनीसँगबाट चिनियाँ राहदानी नम्बर इजे० १३८४०८ बरामद गरिएको बताइएको छ।

प्रारम्भिक सोधपुछमा पक्राउ परेका चिनियाँ नागरिकले आफू खेलौना व्यवसायसँग सम्बन्धित व्यापारी भएको बताएका छन्। उनीबाट लडाकू विमान, स्पाइडर म्यानको मुखौटा लगायतका खेलौनाको खेपसमेत बरामद भएको सुरक्षा स्रोतले जनाएको छ।

प्राप्त जानकारीअनुसार याओ सुझाङ ११ मे २०२६ मा काठमाडौं हुँदै व्यापारिक प्रयोजनका लागि चितवन पुगेका थिए। त्यसपछि वीरगञ्ज हुँदै रक्सौल नाका प्रयोग गरेर भारत प्रवेश गर्ने क्रममा उनी भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका हुन्।

सुरक्षा स्रोतका अनुसार एसएसबीको ड्युटी परिवर्तन भइरहेको समयमा उनी सीमाक्षेत्रमा देखिएका थिए। मितेरी पुल पार गरी भारतीय कस्टम क्षेत्रबाट रक्सौल बजारतर्फ जाँदै गर्दा टाँगाबाट उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।

सोधपुछका क्रममा उनी चिनियाँ भाषामा मात्र बोल्ने भएकाले अनुसन्धानमा कठिनाइ भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। भारत प्रवेशका लागि आवश्यक वैध भिसा कागजात भने उनीसँग फेला नपरेको सुरक्षा निकायको भनाइ छ।

सीमा क्षेत्रमा खटिएका सुरक्षा निकायहरूले उनको भारत प्रवेशको वास्तविक उद्देश्य, सम्भावित सम्पर्क र गतिविधिबारे थप अनुसन्धान थालेका छन्। आवश्यक सोधपुछपछि कानुनी कारबाहीका लागि उनलाई सम्बन्धित प्रहरी कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

एसएसबीका मनीष आनन्दले घटनाको पुष्टि गर्दै अवैध रूपमा बिहार प्रवेश गरिरहेका एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको र उनीविरुद्ध नियमानुसार कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button