भकिम्लीका किसानको घरदैलोमै पशु उपचार, तीन हजार पाँच सय पशुपन्छीलाई औषधि वितरण

म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीमा पशुपालन गर्ने किसानका घरदैलोमा पुगेर निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रूपमा टाढा रहेको भकिम्लीमा नगरपालिकाले आइतबार शिविर आयोजना गरी सेवा प्रदान गरेको हो ।
नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमका अनुसार शिविरमा ७७ जना किसानका करिब तीन हजार पाँच सय पशुपन्छीका लागि औषधि वितरण गरिएको छ । गाईभैंसी, बाख्रा र कुखुरालगायतका पशुपन्छीको स्वास्थ्य जाँच तथा उपचारसमेत गरिएको उनले जानकारी दिए ।
शिविरमा नगरपालिकाका पशु चिकित्सक डा. सुदीप पौडेल, सहायक पशु चिकित्सक गौतम, प्राविधिक सूर्यलाल नेपाली, हरिकृष्ण पौडेल, महित मल्लिकसहित प्रशिक्षार्थी प्राविधिक करुणा पुन र भूमिका पुनले सेवा प्रदान गरेका थिए । नगरपालिकाका पशु चिकित्सक पौडेलले ग्रामीण भेगका किसानलाई घरदैलोमै सेवा दिन शिविर सञ्चालन गरिएको बताउँदै किसानलाई पशुपालनसम्बन्धी प्राविधिक परामर्श पनि प्रदान गरिएको जानकारी दिए ।
शिविरमा आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण, बाँझोपन निवारणका औषधिसँगै पाचक, क्याल्सियम र मिनरललगायत औषधि वितरण गरिएको थियो । प्राविधिक टोलीले घरदैलो गरी पशु स्वास्थ्योपचार, गर्भ परीक्षण, गाईभैंसीको पेटमा किल्लाकाँटीको परीक्षणका साथै जुम्रा, किर्ना, उपियाँ र लुतोजस्ता समस्याको पनि उपचार गरेको थियो ।
भकिम्लीमा व्यावसायिक रूपमा बाख्रा, कुखुरा र गाईभैंसीपालन हुँदै आएको छ । नयाँ किसानलाई प्राविधिक ज्ञान नहुँदा स्वास्थ्योपचारमा कठिनाइ भइरहेको अवस्थामा शिविरले ठूलो राहत दिएको वडाध्यक्ष पदमबहादुर पुनले बताए । बेनी नगरपालिकाले पशु सेवा शाखामार्फत वडास्तरमा शिविर सञ्चालन गर्दै किसानलाई उत्पादनमा आधारित नगद अनुदानसमेत वितरण गर्दै आएको छ ।





