कोरलानाकामा सञ्चार सुधार : बिटिएस टावरको क्षमता दोब्बर, २४ घण्टै नेटवर्क सेवा

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेभ बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ। लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीले शनिबार अतिरिक्त सञ्चार उपकरण जडान गरेको हो।
तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले कोरलानाकामा त्रिपाल टाँगेर व्यापार गर्ने व्यवसायी र अवलोकनका लागि पुग्ने पर्यटकको सहजताका लागि माइक्रोवेभ रेडियो लिंकको बिटिएस टावर जडान गरेको थियो। सञ्चारको पहुँच स्थापना भए पनि उपकरण क्षमता कम हुँदा सेवा भरपर्दो बन्न सकेको थिएन। नेपाल विद्युत प्राधिकरणले विद्युतीय पोल विस्तार गरिसके पनि प्रसारण लाइन भने सञ्चालनमा आउन सकेको छैन। यसैबीच, सौर्य ऊर्जाको सहायताले टावर सञ्चालन गरिँदै आएको थियो।
जोमसोमस्थित टेलिकम कार्यालयका प्रमुख हुमबहादुर भुजेलका अनुसार टेलिफोन र इन्टरनेट समस्या समाधान गर्न ब्याट्री र सोलार प्यानलको क्षमता दोब्बर पारिएको छ। बिटिएस टावरका लागि २० वटा सोलार प्यानल र १५० एम्पियरका तीनवटा ब्याट्री ब्याकअप थप गरिएको उनको भनाइ छ। उनका अनुसार टुजी र फोरजी बिटिएस टावरको ब्याट्री ब्याकअप र सोलार प्यानलको संख्या वृद्धि गरी सहज रूपमा सञ्चालनको व्यवस्था मिलाइएको हो।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बिटिएस टावरको क्षमता वृद्धिपछि २४ सै घण्टा मोबाइल नेटवर्क र इन्टरनेट सुविधा राम्रो भएको बताए। कोरलानाकामा टुजी र फोरजीसहितको नेटवर्कमा सुधार भएसँगै व्यापारी तथा पर्यटकलाई सहज भएको छ।





