हुम्लामा पञ्चवर्षीय वन व्यवस्थापन योजना कार्यान्वयनमा, वार्षिक साढे तीन करोड जडीबुटी राजस्व संकलन हुने

हुम्ला । डिभिजन वन कार्यालय हुम्लाको पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना पारित भई आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि कार्यान्वयनमा आएको छ। वैशाख अन्तिम सातादेखि लागू भएको यो योजनाले जिल्लाको वन क्षेत्रको व्यवस्थापन र सञ्चालन कार्यपद्धतिलाई अगाडि बढाउने डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेश कुमाईले बताए।
उनका अनुसार योजना कार्यान्वयनसँगै वन पैदावारको वृद्धि, काष्ठजन्य तथा गैरकाष्ठजन्य (जडीबुटी) वन पैदावारको मौज्दातबारे पछिल्लो तथ्यांक समेत सार्वजनिक भएको छ। जसमा जडीबुटीतर्फ सरकारद्वारा व्यवस्थित वन र सामुदायिक वनमा गरी हुम्लामा कुल एक करोड ८४ लाख ३५ हजार ७७२ किलोग्राम जडीबुटी मौज्दात रहेको देखिएको छ।
योजना लागू हुने अवधिमा संकलन गर्न सकिने ४४ किसिमका जडीबुटीमध्ये राष्ट्रिय वनबाट प्रतिवर्ष ६ लाख २८ हजार २५२ किलोग्राम र सामुदायिक वनबाट वर्षेनी २ लाख १४ हजार ७३२ किलोग्राम जडीबुटी संकलन गर्न सकिने अनुमान गरिएको छ। पञ्चवर्षीय योजना अभावमा संकलकदेखि व्यापारीसम्म मारमा परेको अवस्थामा अब सहज हुने जडीबुटी व्यापारी टेकबहादुर लामाले बताए।
यो योजना लागू भएपछि हुम्लाबाट जडीबुटीतर्फ प्रतिवर्ष ३ करोड ८९ लाख ३३ हजार ९८८ रुपैयाँ र खोटो संकलनबाट वार्षिक ५ लाख ६४ हजार रुपैयाँ सरकारी राजस्व संकलन हुनेछ। समुदायस्तरमा प्रत्यक्ष आम्दानीतर्फ काठदाउरा बिक्रीबाट वार्षिक २६ लाख १० हजार ६९०, जडीबुटी बिक्रीबाट ५३ लाख ६८ हजार ३ सय र खोटोबाट ४ लाख २० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ। रोजगारीतर्फ वार्षिक १ लाख ९६ हजार ३४४ श्रमदिन सिर्जना हुनेछ, जसमा पूर्णकालीनतर्फ ६४५ दिन र पाँच वर्षे अवधिमा ३ हजार २२५ दिन पूर्णकालीन रोजगारी हुनेछ। कार्यालयले दश कार्यक्रममार्फत ६९ क्रियाकलाप सञ्चालन गर्ने योजना बनाएको छ, जसका लागि वार्षिक १२ करोड १७ लाख ९५ हजार रुपैयाँ बजेट तय गरिएको छ।





