१८ असार २०८३, बिहीबार

देउवा पक्षको कर्णाली भेला सम्पन्न, १५ औं महाधिवेशनलाई एकताको बनाउन आह्वान

सुर्खेत । नेपाली कांग्रेसको देउवा पक्षले कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सम्पन्न गरी एकता र भावी कार्यदिशाका १० सूत्र सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा वीरेन्द्रनगरमा सम्पन्न भेलाले पार्टीको १५ औं महाधिवेशनलाई बृहत्तर एकताको महाधिवेशन बनाउन नेतृत्वलाई आह्वान गरेको छ।

भेलाले सभापति गगनकुमार थापालाई पार्टीका शीर्ष नेता र पूर्वपदाधिकारीसँग सघन संवाद गरी समयमै महाधिवेशनलाई विश्वसनीय, निष्पक्ष र सम्पूर्ण कांग्रेसजनको सहभागिताको वातावरण सुनिश्चित गर्न नेतृत्वदायी पहलकदमी तत्काल सुरु गर्न आग्रह गरेको छ। विगतमा नवीकरण गरेका र नयाँ क्रियाशील सदस्यता लिइसकेका सबैलाई अधिवेशनमा सहभागी हुने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा भेलाले जोड दिएको छ।

भेलाले पारित गरेका दश सूत्रमा केन्द्रीय अनुशासन समितिमार्फत देशभरका नेता तथा कार्यकर्तामाथि गरिएका कारबाही र स्पष्टीकरण फिर्ता लिन आह्वान गरिएको छ। यस्तै, पार्टीका सबै तहमा न्यूनतम २५ प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाप्रति प्रतिबद्धतासहित भूराजनीतिक संवेदनशीलता बुझ्ने साझा दृष्टिकोण अपनाउनुपर्ने, तथा लोकतान्त्रिक शक्तिबीच साझा संयन्त्र निर्माण गर्नुपर्ने विषय समेटिएका छन्।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलप्रति देखाएको व्यवहारको भेलाले भर्त्सना गरेको छ। ‘सम्माननीय राष्ट्रपतिज्यूको मात्र होइन, सिंगो जननिर्वाचित संसदको उपहास र अपमान भएकोमा नेपाली कांग्रेस कर्णाली प्रदेश दुःख महसुस गर्दछ,’ भेलाको निष्कर्षमा भनिएको छ।

यसैगरी, महंगीबाट प्रताडित जनतालाई राहत दिन आवश्यक पहल गर्न, अध्यादेशमार्फत पेसाकर्मीको ट्रेड युनियन हक अधिकार हनन गरेकोप्रति ध्यानाकर्षण गराउन, पूर्व मनसुनबाट आहत समुदायलाई राहतको व्यवस्था गर्न र सम्भावित प्राकृतिक प्रकोपको खतरालाई मध्यनजर गर्दै तयारी रहन भेलाले केन्द्रीय नेतृत्वलाई अनुरोध गरेको छ। सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि प्रमुख प्रतिपक्षको सशक्त र रचनात्मक भूमिका खेल्नुपर्नेमा पनि भेलाले जोड दिएको छ।

भेलाले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, जेनजी आन्दोलनका नाममा पूर्वसभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु देउवामाथि भएको आक्रमणको भर्त्सना गर्दै हाल विदेशमा उपचाररत देउवाको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button