१७ असार २०८३, बुधबार

रुसको दाबी : २४ घण्टामा १ हजारभन्दा बढी युक्रेनी ड्रोन खसालियो

मस्को । रूसी वायु प्रतिरक्षा प्रणालीले पछिल्लो २४ घण्टामा १ हजार ५४ युक्रेनी ड्रोन, एउटा नेप्च्युन–एमडी निर्देशित मिसाइल र एउटा फ्लामिङ्गो लामो दूरीको क्रुज मिसाइल खसालेको रूसी रक्षा मन्त्रालयले दाबी गरेको छ। मन्त्रालयका अनुसार सोही अवधिमा आठ निर्देशित हवाई बम र अमेरिकी निर्मित हिमार्स रकेट पनि नष्ट गरिएको छ।

रूसी सरकारी समाचार संस्था तासका अनुसार रूसी रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणमा ब्ल्याक सी फ्लीटले युक्रेनी सशस्त्र बलका ६ वटा मानवरहित समुद्री डुंगा पनि नष्ट गरेको उल्लेख छ। मन्त्रालयले युक्रेनी ड्रोन जडानस्थल, अस्थायी तैनाथी केन्द्र र युक्रेनतर्फ लडिरहेका विदेशी लडाकुहरूको स्थानमा रूसी सेनाले आक्रमण गरेको जनाएको छ।

यसअघि आइतबार बिहान मन्त्रालयले रातभरमा मात्रै ५५६ युक्रेनी फिक्स्ड–विङ ड्रोन खसालिएको दाबी गरेको थियो। पछिल्लो विवरणअनुसार २४ घण्टाभित्र खसालिएका ड्रोनको संख्या एक हजार नाघेको हो।

मस्कोका मेयर सर्गेई सोब्यानिनले पनि पछिल्लो २४ घण्टामा मस्कोतर्फ आएका १२० भन्दा बढी ड्रोन खसालिएको बताएका छन्। तासले यसलाई एक वर्षभन्दा बढी समययताकै रूसी राजधानीमाथिको सबैभन्दा ठूलो ड्रोन आक्रमण भनेको छ। तासका अनुसार आइतबार मध्यरातदेखि मात्र मेयरले ८१ ड्रोन खसालिएको जानकारी दिएका थिए।

रोयटर्सका अनुसार यो आक्रमणमा मस्को क्षेत्र र बेलगोरोड क्षेत्रमा गरी कम्तीमा चार जनाको मृत्यु भएको रूसी अधिकारीहरूले बताएका छन्। मस्को आसपासका केही आवासीय क्षेत्रमा क्षति पुगेको र विमानस्थल सञ्चालनमा समेत असर परेको जनाइएको छ।

वासिङ्टन पोस्टले पनि मस्को र आसपासका क्षेत्रमा भएको ड्रोन आक्रमणलाई युद्ध सुरु भएयताकै गम्भीरमध्ये एक भनेको छ। सो समाचारअनुसार खिम्की, पोगोरेल्की र देदोभ्स्क लगायतका क्षेत्रमा क्षति तथा मानवीय हताहती भएको विवरण आएको छ।

युक्रेनी पक्षले यस प्रकारका आक्रमणलाई रूसी आक्रमणको प्रत्युत्तरका रूपमा व्याख्या गर्दै आएको छ। तर मस्कोले भने युक्रेनमाथि नागरिक क्षेत्रलाई लक्षित गरेको आरोप लगाएको छ। दुवै पक्षका दाबीहरू स्वतन्त्र रूपमा तत्काल पुष्टि हुन कठिन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

रुस–युक्रेन युद्ध पछिल्ला महिनाहरूमा ड्रोन तथा लामो दूरीका मिसाइल आक्रमणमा थप केन्द्रित हुँदै गएको छ। दुवै पक्षले सैन्य पूर्वाधार, ऊर्जा संरचना, औद्योगिक क्षेत्र र सीमावर्ती इलाकालाई लक्षित गरेको दाबी गर्दै आएका छन्। पछिल्लो घटनाले युद्धको स्वरूप अझ व्यापक र प्रविधिमुखी बन्दै गएको संकेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button