अपुरो निद्राले बढाउँछ पेटको बोसो, वैज्ञानिकले पत्ता लगाए मोटोपनको नयाँ कारण

उमेर बढ्दै जाँदा केही मानिसको शरीरमा बोसो तीव्र रूपमा बढ्न थाल्छ, विशेष गरी पेटको वरिपरि। खानपानको गडबडी, जीवनशैलीको तनाव र लामो समय बसिरहनु त यसका कारण हुन् नै, तर अर्को एउटा महत्त्वपूर्ण कारण पनि छ— निद्रा पूरा नहुनु। लगातार दुई सातासम्म राम्रोसँग निद्रा नपुग्दा पेटको बोसो बढ्न सक्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन्।
वैज्ञानिकहरूले ठूलो संख्यामा मानिसमाथि अध्ययन गरेपछि पाएको नतिजाअनुसार राति ९ घण्टा सुत्ने मानिसको तुलनामा ४ घण्टाभन्दा कम सुत्ने मानिसले धेरै खाना खाने हुँदा शरीरको बोसो बढ्ने दर उच्च हुन्छ। दुई सातासम्म लगातार निद्रा नपुग्दा शरीरको कूल तौल १ प्रतिशतले मात्र बढे पनि पेटको भित्री बोसो (भिसेरल फ्याट) को क्षेत्रफल ९ प्रतिशतले बढेको पाइएको छ। यो पेटको भित्री बोसो विशेष रूपमा खतरनाक मानिन्छ।

वैज्ञानिकहरूका अनुसार लामो समय निद्रा नपुग्दा मस्तिष्कमा खानाको तीव्र चाहना जागृत हुन्छ, जसले भोक बढाउने र खाना खोज्ने प्रवृत्तिलाई उत्तेजित गर्छ। यसरी निद्राको कमीले शरीरमा जम्मा हुने बोसो ‘भिसेरल फ्याट’ को रूपमा रहन्छ, जुन पेटको भित्री भागमा जम्मा भई मुटुरोग, उच्च रक्तचाप, मधुमेहजस्ता गम्भीर रोगको जोखिम बढाउँछ।
अध्ययनले अर्को रोचक तथ्य पनि उजागर गरेको छ— पर्याप्त निद्रा पुग्ने व्यक्तिले धेरै खाना खाए पनि उनको बोसो मुख्यतः छालामुनि जम्मा हुन्छ, जसले भिसेरल फ्याटको मात्रामा खासै वृद्धि हुँदैन। तर, निद्रा नपुग्ने व्यक्तिमा बोसो सजिलै बढ्नुका साथै भिसेरल फ्याटको क्षेत्रफल ११ प्रतिशतसम्म बढी हुन्छ। निद्रा नपुगेपछि पछि गएर जति नै सुते पनि त्यसले खासै फाइदा पुर्याउँदैन।
भिसेरल फ्याटको मात्रा बढ्दा उच्च रक्तचाप, पक्षाघात, मुटुरोग, मधुमेहलगायत अनेकौं रोगको जोखिम बढ्नुका साथै मस्तिष्क संकुचन र स्नायुसम्बन्धी क्षतिको सम्भावना पनि उत्तिकै बढ्छ।
यदि राति सुत्ने समय ५ घण्टाभन्दा कम छ भने शरीरको कूल बोसो २७ प्रतिशत र पेटको बोसो १६ प्रतिशतले बढ्न सक्छ। यसरी लगातार ५ दिनसम्म निद्रा नपुग्दा औसत बोसो वृद्धि दर १.६ प्रतिशतले बढ्न सक्छ। तर, राति ६ घण्टाभन्दा बढी सुत्ने हो भने विभिन्न प्रकारको बोसो बढ्ने जोखिम न्यून हुन्छ। यदि दैनिक ७ देखि ८ घण्टा सुत्न सकियो भने प्राकृतिक रूपमै शरीरको बोसो घट्न सक्ने र मोटोपन नियन्त्रणमा रहने वैज्ञानिकहरूको निष्कर्ष छ।
पर्याप्त निद्राले शरीरको बोसो घटाउनुका साथै मुटु तथा रक्तनलीको सुरक्षा गर्छ, चयापचय (मेटाबोलिज्म) सुधार्छ, छालालाई पोषण दिन्छ, स्मरणशक्ति तीव्र बनाउँछ, मानसिक स्वास्थ्य सुदृढ गर्छ, शरीरको सुन्निने समस्या कम गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। समग्रमा, पर्याप्त र गुणस्तरीय निद्रा शारीरिक र मानसिक दुवै स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ।





