तीन सय वर्ष पुरानो एकमहिने मत्स्यनारायण मेला सुरु, ५० हजार बढी दर्शनार्थी भित्रिने अपेक्षा

भक्तपुर । चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिर परिसरमा एकमहिने पुरुषोत्तम मलमास मेला सुरु भएको छ। मेलाका अवसरमा मन्दिर परिसर झकिझकाउ पारिएको छ।
मेलाको उद्घाटन चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले गरे। उनले ग्रामीण पर्यटनको विकास र सिंगो चाँगुनारायण क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न संघीय सरकारसँग नगरपालिकाले माग गरिरहेको बताए। वडा नम्बर ५ का अध्यक्ष एवं मन्दिरका संरक्षक जयन्द्र खड्काले ऐतिहासिक धार्मिक क्षेत्रको विकास र पर्यटनको अवसरलाई गुम्न नदिने गरी अगाडि बढिरहेको बताए।
मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले एकमहिने मेलाको व्यवस्थापनमा सिंगो गाउँ नै जुटेको जानकारी दिए। मेला अवधिभर प्रवचन र भजनकीर्तन, नारायणको पूजा तथा पुरुषोत्तम महात्म्य वाचनको व्यवस्था गरिएको छ भने दर्शनार्थीलाई सहज रूपमा पूजा गर्ने प्रबन्ध मिलाइएको उनको भनाइ छ।
मन्दिर संरक्षकसमेत रहेका पुरीले भने, “यो ३०० वर्ष पुरानो मन्दिर हो। दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो। यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ। सय वर्ष पुरानो पूजाको थाली भने अझै छ। मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ।”
स–साना तीन खोलाको संगमस्थलमा रहेको यो मन्दिर त्रिवेणी धामका नामले पनि चिनिन्छ। यहाँ ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेका छन्। मलमासमा मन्दिर परिसरमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने गरेको उनले बताए।
यसैगरी, भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा पनि आजदेखि एकमहिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मलमास मेला सुरु भएको छ। यस मन्दिरमा एक महिनासम्म नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गरिनेछ। यहाँका कुण्डमा स्नान गरी मन्दिर दर्शन गरे रोगव्याधि र पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुरका बासिन्दाले पूजा, दर्शन एवं स्नान गर्ने गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ।
यस क्षेत्रमा प्राकृतिक सौन्दर्य रहेको र पार्क निर्माण गरिएकाले बाह्रै महिना आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताए। यस मन्दिरमा तीज र जनैपूर्णिमामा पनि मेला लाग्ने गरेको छ भने बालाचतुर्दशीमा महाद्वीप बालेर ६४ शिवलिङ्गको परिक्रमा गरी सद्बिज छर्न श्रद्धालुको घुइँचो लाग्ने गरेको उनले जानकारी दिए।





