१७ असार २०८३, बुधबार

दक्षिण चीनको ग्वाङ्सीमा ५.२ म्याग्निच्युडको भूकम्प, तीन बेपत्ता, चार अस्पताल भर्ना

लिउझोउ (चीन) । दक्षिण चीनको ग्वाङ्सी जुआङ स्वायत्त क्षेत्रको लिउझोउ सहरमा सोमबार बिहानै ५.२ म्याग्निच्युडको भूकम्प जाँदा तीन जना बेपत्ता भएका छन् भने चार जना अस्पताल भर्ना भएका छन्।

चीन भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) का अनुसार भूकम्प स्थानीय समय अनुसार राति १२ः२१ बजे लिउनान जिल्लामा केन्द्रित थियो र यसको गहिराइ ८ किलोमिटर रहेको थियो।

आपतकालीन, दमकल र प्रहरी निकायले उद्धार कार्य गरिरहेका छन्। ग्वाङ्सी क्षेत्रीय भूकम्प राहत मुख्यालयले बिहान २ बजे तेस्रो स्तरको आपतकालीन प्रतिकार्य सक्रिय गरेको छ।

राज्य परिषद्को भूकम्प राहत मुख्यालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले सोमबार चौथो स्तरको आपतकालीन प्रतिकार्य सक्रिय गर्दै प्रभावित क्षेत्रमा स्थानीय राहत प्रयासलाई सहयोग गर्न एक कार्यदल पठाएको छ।

स्थानीय अधिकारीलाई सकेसम्म चाँडो हताहत र क्षतिको विवरण संकलन गर्न, खोज तथा उद्धार कार्य सञ्चालन गर्न, प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा सार्न र परकम्पको अनुगमन गर्न निर्देशन दिइएको छ।

भूकम्प प्रभावित क्षेत्रमा ५१ वटा दमकल तथा उद्धार सवारी साधन र ३१५ जना कर्मचारी परिचालन गरिएको छ। चीन भूकम्प प्रशासनले पनि भूकम्पपछि तेस्रो स्तरको आपतकालीन प्रतिकार्य सक्रिय गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button