१७ असार २०८३, बुधबार

एमाले सचिवालय बैठक आज : कार्यविभाजन र स्थानीय चुनावी रणनीतिमा केन्द्रित हुँदै

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

गत शनिबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। पार्टीको ११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन हुन नसकेकाले आजको मुख्य एजेन्डा यसैमा केन्द्रित हुने नेताहरूले बताएका छन्।

एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन दिइनेछ। यसैगरी केन्द्रीय विभाग तथा निकायहरूमा जिम्मेवारी बाँडफाँडको तयारी पनि रहेको छ।

आजको बैठकले गत फागुनमा सम्पन्न निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने ती पदाधिकारीले जानकारी दिए।

यसबाहेक, बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरूको व्यवस्थापन, सरकारका पछिल्ला कामकारबाही र तिनले जनतामा पारेको नकारात्मक असरका विषयमा पनि छलफल हुने नेताहरूले जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button