१७ असार २०८३, बुधबार

उज्बेकिस्तानमा ठूलो मात्रामा लागूऔषध बरामद : उत्खनन मेसिनभित्र लुकाइएको ६०० केजी ड्रग्स बरामद

तास्कन्द । उज्बेकिस्तानको राज्य सुरक्षा सेवाले अफगानिस्तानसँगको सीमानामा ठूलो लागूऔषध तस्करी प्रयास विफल पार्दै करिब ६०० किलोग्राम लागूऔषध बरामद गरेको छ।

अधिकारीहरूका अनुसार सुर्खान्दारिया क्षेत्रको सीमा राजमार्ग चेकपोइन्ट हुँदै एक ट्रकमा ल्याइँदै गरेको उक्त अवैध खेप लुकाउन ट्रेलरमा एउटा उत्खनन मेसिन (एक्स्काभेटर) लोड गरिएको थियो। ट्रक चालक अफगान नागरिक रहेको जनाइएको छ।

सवारी साधनको नियमित स्क्यानिङका क्रममा भन्सार अधिकारीले मेसिनभित्र शंकास्पद वस्तु देखेपछि विस्तृत निरीक्षण गर्दा उत्खनन मेसिनभित्र लुकाइएको अवस्थामा ५९३ किलोग्राम चरस र ३ किलोग्राम अफिम बरामद भएको हो।

यो पछिल्लो समय उज्बेकिस्तानमा भएको अर्को ठूलो लागूऔषध बरामदी हो। गत अप्रिलमा पनि सीमा तथा भन्सार अधिकारीले ठूला धातुका भाँडामा लुकाइएको १९० किलोग्रामभन्दा बढी चरस बरामद गरेका थिए। तस्करहरूले अफगानिस्तानबाट उज्बेकिस्तान हुँदै तेस्रो मुलुकमा लागूऔषध पुर्याउने योजना बनाएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button