झापामा चिनियाँ आधुनिक कृषि परियोजना सुरु, सयौँ किसान लाभान्वित

झापा। झापाको परम्परागत कृषिलाई आधुनिक, व्यावसायिक र जलवायु–अनुकूल बनाउन चिनियाँ विशेष परियोजना सुरु भएको छ। चीनको छोङछिङ महानगर जनसरकार र छोङछिङ महानगर कृषि तथा ग्रामीण मामिला ब्युरो आयोगका दर्जनौँ वरिष्ठ कृषि विशेषज्ञहरूको टोली आधुनिक प्रविधि र मेसिनरीसहित झापा आइपुगेपछि परियोजना अघि बढेको हो।
चीन–दक्षिण एसिया गरिबी निवारण तथा विकास सहयोग केन्द्रको ‘भाइब्रेन्ट भिलेज’ अभियान नाम दिइएको यो परियोजना विर्तामोडमा शुभारम्भ गरियो। सो स्थानमा आधुनिक उपकरणको जडान कार्य सम्पन्न भइसकेको छ भने चिनियाँ प्राविधिकहरूले मेसिनको प्रभावकारी प्रयोग सुनिश्चित गर्न स्थानीयलाई सञ्चालन तालिमसमेत दिएका छन्।
परियोजनाअन्तर्गत हालसम्म एक सय २० भन्दा बढी स्थानीय किसानहरूले उन्नत भैँसी र गाई पालन प्रविधि तथा आधुनिक मत्स्य पालनको व्यावहारिक तालिम प्राप्त गरिसकेका छन्। दीर्घकालीन प्रभाव र निरन्तरता सुनिश्चित गर्न आगामी दिनमा पशुदाना उत्पादनका लागि वैज्ञानिक मकै खेती प्रविधि, हरियो घाँस सुरक्षित राख्ने साइलेज प्रविधिको तयारी र भण्डारण विधि तथा परिमार्जित आधुनिक फार्म व्यवस्थापन अभ्यासमा थप प्रशिक्षण सञ्चालन गरिनेछ।
यो बृहत् परियोजनालाई चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी) नेपाल कार्यालयले स्थानीय विर्तामोड र अर्जुनधारा नगरपालिकासँगको प्रत्यक्ष समन्वय र सहकार्यमा कार्यान्वयन गरिरहेको छ। सिएफआरडी नेपाल कार्यालयकी निर्देशक जोउ जिछियाङका अनुसार यो परियोजना एक प्रदर्शन मोडेल हो। यसले नेपाली किसानलाई तरकारी, हाइब्रिड धान, पशुपन्छी र मत्स्य पालन क्षेत्रमा चीनले गरिबी निवारणमा हासिल गरेका ऐतिहासिक उपलब्धिहरू प्रत्यक्ष देखाउनेछ भने स्थानीय समुदायकै नेतृत्वमा चल्ने दिगो र जलवायु–अनुकूल कृषि प्रणाली निर्माणमा मोडेलका रूपमा काम गर्नेछ।
चिनियाँ कृषि विशेषज्ञ झाईले कार्यस्थलमै कृषि मेसिनरी जडान गर्नुका साथै पशुपन्छी, मत्स्य पालन, कृषि उपजको कटानीपछिको उचित व्यवस्थापन र एकीकृत तरकारी खेती प्रणालीका उन्नत प्रविधिबारे जानकारी दिए। परियोजनाले मुख्य रूपमा चीनको आधुनिक यान्त्रिक पशुपन्छी र मत्स्य पालन प्रणालीको सुरुवात, कृषि फार्म व्यवस्थापन अभ्यासमा सुधार र किसानहरूलाई व्यावहारिक प्राविधिक सीप प्रशिक्षण दिने कार्यमा जोड दिनेछ।
परियोजनाको मुख्य उद्देश्य आधुनिक चिनियाँ पशुपन्छी पालन, उन्नत जातका दुधालु भैँसी र वैज्ञानिक माछा पालन प्रविधि भित्र्याएर नेपाली किसानको आम्दानी बढाउनु र ग्रामीण जीवनस्तरमा सुधार ल्याउनु हो। परियोजना उद्घाटन समारोहलाई प्रतिनिधिसभाका पूर्वसभामुख देवराज घिमिरे, कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री चिन्तन पाठक र कोसी प्रदेशको कृषि विकास मन्त्रालयका अधिकारी इसराइल मसुरीले सम्बोधन गरे। कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधि, सिएफआरडीका अधिकारी, कोसी प्रदेश सरकार र स्थानीय तहका अधिकारीहरूको सहभागिता थियो।
समारोहमा बोल्दै पूर्वसभामुख घिमिरे, मन्त्री पाठक र मसुरीले चोङचिङका कृषि विशेषज्ञहरू हजारौँ माइलको दूरी तय गरेर उन्नत प्रविधि सिकाउन नेपाल आएकोमा कृतज्ञता व्यक्त गरे। चोङचिङ सरकारको यो उदार सहयोग र विशेषज्ञहरूको निःस्वार्थ योगदानको उच्च प्रशंसा गर्दै चीनबाट ल्याइएका दर्जनौँ अत्याधुनिक कृषि मेसिनले कोसी प्रदेशका जनतामा आधुनिकीकरणको नयाँ ऊर्जा र आशा जगाएको उनीहरूको भनाइ थियो।
सिएफआरडी नेपालकी निर्देशक जोउ जिछियाङले सन् २०२३ मा चिनियाँ कृषि विशेषज्ञहरूको टोलीले झापामा गरेको विस्तृत स्थलगत मूल्याङ्कनका आधारमा यो परियोजना विकास गरिएको जानकारी दिइन्। उक्त अध्ययनले झापामा पशुपन्छी र मत्स्य पालनको प्रचुर सम्भावना देखाएपछि कार्यक्रम ल्याइएको उनले बताइन्।
भाइब्रेन्ट भिलेज इनिसिएटिभको फ्रेमवर्कअन्तर्गत सिएफआरडी नेपालले झापामा पशुपन्छी तथा मत्स्य पालन विकास परियोजना, चितवनमा हाइब्रिड धान खेती प्रदर्शन कार्यक्रम र ललितपुर तथा दक्षिणकालीमा अत्याधुनिक हरितगृह तरकारी खेती प्रणाली सञ्चालन गरिरहेको छ। यसैगरी, सिएफआरडीले सामाजिक उत्तरदायित्वअन्तर्गत दमक क्षेत्रका १० वटा सरकारी विद्यालयलाई अतिरिक्त क्रियाकलापका लागि खेलकुद सामग्रीसमेत वितरण गरेको छ। समारोहको अन्त्यमा किसान र चिनियाँ प्राविधिक विशेषज्ञहरूबीच कृषि फार्मको स्थलगत भ्रमण तथा सघन अन्तरक्रियात्मक संवाद भएको थियो।





