गृहमन्त्री हुँदा सुधनले सार्वजनिक गरेको सम्पत्ति शंकास्पद रहेको सांसद साहको आरोप, छानबिनको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले तत्कालीन गृहमन्त्री सुधन गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण शंकास्पद रहेको बताउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद साहले गृहमन्त्री हुँदा सुधनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा कयौं प्रश्न उठ्ने ठाउँ रहेको बताए। उनले प्रधानमन्त्री वालेन्द्र शाहले पनि सुधनलाई चोख्याउने गरी छानबिनको नाटक गरेको आरोप लगाए।
‘तत्कालीन गृहमन्त्री सुधन गुरुङले सार्वजनिक गरेको सम्पत्ति शंकास्पद छ। उनको सम्पत्तिको निष्पक्ष छानबिन गरेर सार्वजनिक गरिनुपर्छ,’ साहले भने, ‘राज्यले पर्याप्त छानबिन गरेर कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ।’ उनले यस्ता शंकास्पद सम्पत्ति भएका व्यक्तिबारे सरकार ढाकछोपमा लाग्न नहुने पनि उल्लेख गरे।





