६ स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिमा आवेदन खुल्यो, १० दिनभित्र दरखास्त दिन सकिने

काठमाडौं । विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पद रिक्त रहेको र ती पदमा नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन खुलाएको हो।
समितिले २०८३ वैशाख ३१ गते स्वीकृत ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम दरखास्त आह्वान गरेको जनाएको छ। इच्छुक तथा योग्य व्यक्तिले सूचना पहिलोपटक प्रकाशित भएको मितिले १० दिनभित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वेबसाइटमा उपलब्ध लिंकमार्फत आवेदन दिन सक्ने मन्त्रालयले जानकारी दिएको छ।





