१७ असार २०८३, बुधबार

बेलिब्रिज हटेसँगै खोटाङको तराईसँग सीधा सडक सम्पर्क टुट्यो

खोटाङ । फोक्सिङटार र बङ्सिलाघाटका अस्थायी बेलिब्रिज निकाल्न थालिएपछि खोटाङको पूर्वी तराईसँगको सीधा यातायात सम्पर्क विच्छेद भएको छ।

सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदीको बेलिब्रिज आइतबारदेखि निकाल्न थालिएको हो। त्यसैगरी, बङ्सिलाघाटस्थित सुनकोशी नदीमा जडान गरिएको बेलिब्रिज वैशाख २७ गतेदेखि हटाउन सुरु गरिएको छ। यी दुवै बेलिब्रिज हटेपछि खोटाङबाट तराईतर्फ सीधा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

फोक्सिङटारको बेलिब्रिज खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने गरी गत पुस २७ गतेदेखि सञ्चालनमा आएको थियो। सुनकोशी नदीमा हरेक वर्ष हिउँदमा अस्थायी बेलिब्रिज जडान गर्ने र बर्खा सुरु हुनुअघि निकाल्ने गरिएको छ।

पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालका अनुसार यस वर्ष फोक्सिङटारमा बेलिब्रिज जडान तथा हटाउने कामका लागि एमए/एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि, कटारी–३ उदयपुरले ९६ लाख ७७ हजार ९ सय ३७ रुपैयाँमा ठेक्का लिएको थियो।

फोक्सिङटारमा यसअघि निर्माण गरिएको स्थायी पुल गत असोज १२ गते आएको बाढीले बगाएको थियो। करिब १२ वर्ष लगाएर निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएको एक वर्षमै बाढीले क्षति पुर्‍याएको थियो। स्थायी पुल बगेपछि सो स्थानमा हरेक वर्ष अस्थायी बेलिब्रिज राख्न र हटाउन लाखौँ रुपैयाँ खर्च हुँदै आएको छ।

यस्तै, बङ्सिलाघाटस्थित सुनकोशी नदीमा पानीको बहाव बढ्न थालेपछि वैशाख २७ गतेदेखि बेलिब्रिज निकाल्न थालिएको हो। उक्त बेलिब्रिज खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने गरी पहिलोपटक जडान गरिएको थियो। बेलिब्रिज जडान र हटाउने कामका लागि गुरुकुल बिल्डर्स एन्ड सप्लायर्स प्रालि, रौतहटले ५७ लाख रुपैयाँमा ठेक्का लिएको थियो।

कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बङ्सिलाघाटमा बेलिब्रिजका सामग्री खरिदका लागि १ करोड ८७ लाख रुपैयाँ विनियोजन गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको थियो।

बङ्सिलाघाटमा स्थायी पुल निर्माणको कामसमेत अघि बढिरहेको छ। १९ करोड १८ लाख ४१ हजार ४ सय रुपैयाँ लागतमा ३३ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी कालिका–वेदांसी जेभीसँग २०७९ मंसिर १ गते सम्झौता भएको थियो। तर पुल निर्माणको गति सुस्त भएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन्।

तराईसँगको सीधा यातायात सम्पर्क टुटेपछि उपभोग्य वस्तु, निर्माण सामग्री र दैनिक आवश्यक सामग्री ढुवानीमा समस्या हुने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताए। उनका अनुसार अब सामग्री कटारी हुँदै घुमाएर ल्याउनुपर्नेछ। गाईघाट–दिक्तेल सडकमार्फत सामान ल्याउँदा फोक्सिङटारस्थित झोलुङ्गे पुलबाट मानिसमार्फत सामान तार्नुपर्ने अवस्था आउनेछ।

सामान गाडीमा पटक–पटक लोडअनलोड गर्दा टुटफुट हुने, हराउने, पानीले भिज्ने र ढुवानी लागत बढ्ने समस्या देखिने आचार्यको भनाइ छ। उनका अनुसार यसका कारण उपभोग्य वस्तुमा प्रतिकेजी ३ देखि ५ रुपैयाँसम्म मूल्य बढ्न सक्नेछ।

“खोटाङको समस्या फेरि बल्झिएको छ। सीधा यातायात नभएपछि फोक्सिङटारमा झोलुङ्गे पुलबाट मानिसलाई बोकाएर सामान तार्नुपर्छ। लोडअनलोड गर्दा सामान टुटफुट हुने, हराउने र पानीले भिज्ने समस्या हुन्छ,” आचार्यले भने, “यसले प्रतिकेजी ३ देखि ५ रुपैयाँसम्म मूल्य बढ्ने देखिन्छ।”

स्थायी पुल निर्माणमा ढिलाइ र अस्थायी बेलिब्रिजमा वर्षेनि हुने खर्चका कारण स्थानीयवासीले दीर्घकालीन समाधानको माग गर्दै आएका छन्। खोटाङलाई तराईसँग जोड्ने प्रमुख सडक सम्पर्क बर्खायाम सुरु नहुँदै बन्द भएपछि यात्रु, व्यापारी, निर्माण व्यवसायी र सर्वसाधारण प्रत्यक्ष मारमा पर्ने भएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button