चीनमा उपभोग बजार स्थिर, चार महिनामा खुद्रा बिक्री १.९ प्रतिशतले बढ्यो

बेइजिङ । चीनको उपभोग क्षमताको प्रमुख सूचक मानिने उपभोक्ता वस्तुको खुद्रा बिक्री सन् २०२६ को पहिलो चार महिनामा वार्षिक आधारमा १.९ प्रतिशतले वृद्धि भएको छ।
चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सोमबार सार्वजनिक गरेको विवरणअनुसार जनवरीदेखि अप्रिलसम्म उपभोक्ता वस्तुको कुल खुद्रा बिक्री करिब १६.४९ ट्रिलियन युआन अर्थात् करिब २.४१ ट्रिलियन अमेरिकी डलर पुगेको छ। अटोमोबाइल बाहेकको खुद्रा बिक्री भने ३.१ प्रतिशतले बढेर १५.२ ट्रिलियन युआन पुगेको तथ्यांकमा उल्लेख छ।
यस अवधिमा शहरी क्षेत्रमा खुद्रा बिक्री १४.२९ ट्रिलियन युआन पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले बढी हो। ग्रामीण क्षेत्रमा भने खुद्रा बिक्रीको वृद्धि दर तुलनात्मक रूपमा छिटो देखिएको छ। ग्रामीण खुद्रा बिक्री २.८ प्रतिशतले बढेर २.२ ट्रिलियन युआन पुगेको छ।
सेवा क्षेत्रतर्फको खुद्रा बिक्रीमा पनि सुधार देखिएको छ। जनवरीदेखि अप्रिलसम्म सेवा खुद्रा बिक्री वार्षिक आधारमा ५.६ प्रतिशतले बढेको छ। यो दर पहिलो त्रैमासिकको तुलनामा ०.१ प्रतिशत विन्दुले बढी हो। दूरसञ्चार तथा सूचना सेवा, पर्यटन तथा भाडा सेवा, सांस्कृतिक तथा मनोरञ्जन सेवा र यातायात तथा यात्रा सेवामा तीव्र वृद्धि देखिएको तथ्यांकले देखाएको छ।
अनलाइन कारोबार पनि निरन्तर विस्तार भएको छ। पहिलो चार महिनामा वस्तु तथा सेवाको कुल अनलाइन खुद्रा बिक्री ६.५३ ट्रिलियन युआन पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.६ प्रतिशतले बढी हो। अनलाइन वस्तु बिक्री ५.७ प्रतिशतले बढेर करिब ४.१२ ट्रिलियन युआन पुगेको छ। यो कुल उपभोक्ता वस्तु खुद्रा बिक्रीको २५ प्रतिशत हो।
त्यस्तै, अनलाइन सेवा बिक्री ८.३ प्रतिशतले बढेर २.४१ ट्रिलियन युआन पुगेको छ। यसले चीनमा डिजिटल उपभोग, सेवा अर्थतन्त्र र नयाँ उपभोग ढाँचाको विस्तारलाई संकेत गरेको छ।
अप्रिल महिनामात्र हेर्दा कुल खुद्रा बिक्री वार्षिक आधारमा ०.२ प्रतिशतले मात्र बढेको छ। मासिक आधारमा भने मार्चको तुलनामा अप्रिलको खुद्रा बिक्री ०.४८ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ।
राष्ट्रिय तथ्यांक ब्युरोका प्रवक्ता फु लिङहुईले अप्रिल महिनाको सुस्त वृद्धिको एक कारण गत वर्षको सोही अवधिको उच्च आधार रहेको बताए। यद्यपि उनले चीनको उपभोग बजारमा स्थिर वृद्धिको समग्र प्रवृत्ति परिवर्तन नभएको स्पष्ट पारे।
उनका अनुसार सेवा खुद्रा बिक्रीको गति बढेको छ, केही स्तरोन्नत उपभोक्ता वस्तुमा तुलनात्मक रूपमा तीव्र वृद्धि कायम छ र नयाँ प्रकारका उपभोग ढाँचा थप विस्तार भइरहेका छन्।
आगामी दिनमा चीनसँग उपभोग विस्तारका लागि धेरै अनुकूल आधार रहेको फुले बताए। विशाल घरेलु बजार, विविध उपभोग परिदृश्य, नयाँ शहरीकरणको निरन्तर प्रगति र शहर–ग्रामीण एकीकरणको गहिराइले उपभोग वृद्धिलाई आधार दिने उनको भनाइ छ।
साथै, वस्तु र सेवाको आपूर्ति थप विविध बन्दै गएको, आधुनिक लजिस्टिक प्रणाली सुधार हुँदै गएको र सरकारले उपभोग प्रवर्द्धनका लागि अघि सारेका नीतिगत उपायहरू प्रभावकारी हुँदै गएको उनले बताए। यी आधारहरूले घरायसी उपभोगको विस्तार र स्तरोन्नतिलाई समर्थन गर्ने अपेक्षा गरिएको छ।





