‘मेड इन इन्डिया’ लेखेको माइकको तस्बिर राख्दै सांसद तामाङको व्यङ्ग्य : ‘सभामुखज्यूसँग आत्मनिर्भरको कुरा गर्न खोजेको…’

काठमाडौं । धादिङ २ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सभामुख डोलप्रसाद अर्यालप्रति व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा आफूले धादिङको राजमार्गमा राखिएका विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेसनबारे बोल्दै गर्दा सभामुख अर्यालले माइक काटिदिएको घटनापछि सांसद तामाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएकी हुन्। उनले संसद्को माइकमा ‘मेड इन इन्डिया’ लेखिएको तस्बिर राख्दै लेखेकी छन्, “सभामुखज्यूसँग आत्मनिर्भरको कुरा गर्न खोजेको माइक नै ‘मेड इन इन्डिया’ लेखेको देखे!” उनको यो पोस्टले संसद्मा प्रयोग हुने उपकरणसमेत आयातित रहेकोप्रति सङ्केत गर्दै व्यङ्ग्य गरेको छ।





