कामु प्रधानन्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि निवेदकको गुनासो

काठमाडौँ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले रिट दरपीठविरुद्धका निवेदन दर्ता गर्न आदेश दिए पनि दर्ता गर्ने अधिकारीहरू कुर्सी छाडेर हिँडेको भन्दै निवेदकहरूले गुनासो गरेका छन्।
निवेदक एवं अधिवक्ता प्रेमराज सिलवालले कामु प्रधानन्यायाधीशको निर्देशन आएको थाहा पाएपछि दर्ता गर्न सम्बन्धित अधिकारीहरूसमक्ष पुग्दा उनीहरू कुर्सीमा नभेटिएको बताए। ‘हामी कामु प्रधानन्यायाधीश मल्ललाई भेट्यौं। उहाँले १ बजेभित्र दर्ता गर्न आदेश गरेँ भन्नुभयो, तर आदेशअनुसार तल दर्ता गरिएको छैन। बुझ्न जाँदा पनि मुख्य रजिस्ट्रार र रजिस्ट्रारहरू मिटिङ भनेर तलमाथि गरिरहनुभएको छ,’ उनले भने।
उनका अनुसार मुख्य रजिस्ट्रार विमल पौडेल र मुद्दा महाशाखा हेर्ने रजिस्ट्रार मानबहादुर कार्की आफ्नो कार्यकक्षमा भेटिएनन्। ‘१ बजेसम्म गर्नु भनेर आदेश भए पनि गरिएको छैन। दर्ता नगर्ने हो भने नगर्ने भनिदिए हुन्थ्यो, तर हामी दिनदिनै धाइरहेका छौं, दुःख भएको छ,’ सिलवालले भने।
अर्की अधिवक्ता गीता थापा पनि आफ्नो निवेदन दर्ता भए वा नभएको बुझ्न सर्वोच्च पुगेकी थिइन्। प्रधानन्यायाधीशको आदेश भएपछि मुख्य रजिस्ट्रार र रजिस्ट्रारकहाँ जाँदा नभेटिएको उनको भनाइ छ। कामु प्रधानन्यायाधीशको सचिवालयका एक कर्मचारीका अनुसार आदेश बुझाउन जाँदा मुख्य रजिस्ट्रार कार्यकक्षमा भेटिएका थिएनन्। ‘मुख्य रजिस्ट्रारज्यू मिटिङमा जानुभएको थियो, तर बिरामी परेकाले आउनुभएको छैन भन्ने जवाफ पिएबाट पायौं,’ ती कर्मचारीले भने, ‘रजिस्ट्रारज्यू पनि भेटिनुभएन, त्यसपछि रिट दर्ता गर्ने शाखालाई पनि आदेश दिएका छौं।’
यसैबीच, त्यसपछि के गर्ने भन्ने विषयमा कामु प्रधानन्यायाधीश मल्ल सर्वोच्चका अन्य न्यायाधीशहरूसँग छलफलमा रहेको बताइएको छ। नेपाल बार एसोसिएसनका प्रतिनिधिहरू एवं अन्य वकिलले पनि मल्लसँग छलफल गरेका छन्। कामु प्रधानन्यायाधीश मल्लले प्रधानन्यायाधीश मनोजकुमार शर्माको सिफारिससम्बन्धी परेका रिटको दरपीठविरुद्धका निवेदन दर्ता गर्न मुख्य रजिस्ट्रार पौडेललाई आदेश दिएकी थिइन्।





