१७ असार २०८३, बुधबार

नेकपा एमालेको सचिवालय बैठक सम्पन्न, ओलीको सचिवालय प्रमुखमा पाल नियुक्ति अनुमोदन

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (जेठ ४ गते) अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु (भक्तपुर) मा सम्पन्न भएको छ। दिउँसो १ बजे सुरु भएको बैठकले अध्यक्ष ओलीको सचिवालय प्रमुखमा केन्द्रीय सदस्य निरुदेवी पाललाई तोक्ने निर्णयलाई औपचारिक रूपमा अनुमोदन गरेको छ।

यसअघि गत शनिबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै सारिएको थियो। आजको बैठकले पार्टीको ११औँ महाधिवेशनपछि बाँकी रहेको नेताहरूको कार्यविभाजनलाई मुख्य एजेन्डा बनाएको थियो। बैठकले आठ प्रदेश, ७७ भौगोलिक जिल्ला, चार गैरभौगोलिक जिल्ला, प्रवासका विभिन्न कमिटी तथा देशका ७५३ स्थानीय तहमा केन्द्रीय सदस्यस्तरका इन्चार्ज तोक्ने निर्णय गरेको छ। केन्द्रीय सदस्य नपुग भएको स्थानमा प्रदेश कमिटीस्तरका नेता तोकिनेछन्।

पालको नियुक्तिसँगै अध्यक्ष ओलीको सचिवालयमा रहेका स्वकीय सचिव राजेश बज्राचार्य र दीपेन्द्र दाहाल कायम रहने र उनीहरूले गुण्डुस्थित निवासको सचिवालय व्यवस्थापन गर्ने जिम्मेवारी पाएका छन्। कार्यालय व्यवस्थापन, उच्चस्तरीय भेटघाट र राजनीतिक संवादको संयोजन भने पालले गर्ने एमाले कार्यालय स्रोतले जनाएको छ। स्वास्थ्यमा सुधार भएपछि सचिवालय पार्टी मुख्यालयमा सारिने जनाइएको छ।

बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति तोक्ने, सरकारले जबरजस्ती हटाएका सुकुम्बासीको व्यवस्थापन, र सरकारका पछिल्ला कामकारबाहीले जनतामा पारेको असरबारे समेत छलफल गरेको बताइएको छ। दोस्रो कार्यकालमा केन्द्रीय सदस्य रहेकी पाल ११औँ महाधिवेशनमा खुला महिलातर्फ १,८८८ मत ल्याएर विजयी भएकी थिइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button