एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई दियो पार्टी सदस्यता

काठमाडौँ। नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ। भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले २०८२ साउन ५–७ गते बसेको केन्द्रीय समितिको निर्णय उल्ट्याउँदै भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो।
आइतबार मात्रै पार्टी सदस्यता रोक्ने निर्णय गरिएपछि पहिलो पटक पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई एमालेले प्रमुख अतिथिका रूपमा आफ्नो कार्यक्रममा स्थान दिएको थियो। ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले आइतबार पुरानो कार्यालय रहेको मदननगर बल्खुमा आयोजना गरेको सभामा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाइएको थियो। पूर्वराष्ट्रपति भण्डारीका पति एवं एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा गाडी दुर्घटनामा परी निधन भएको ३३ वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
उक्त सभामा एमालेका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र गोकर्ण विष्ट तथा महासचिव शङ्कर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिवहरू पद्मा अर्याल, भानुभक्त ढकाल, हिक्मत कार्की, राजन भट्टराई र खगराज अधिकारीलगायत सहभागी भएका थिए।
भण्डारी पहिलो पटक २०७२ कात्तिक ११ मा राष्ट्रपति बनेकी थिइन्। उनी दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ गते पुनः राष्ट्रपति निर्वाचित भएकी थिइन्। २०७९ फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दै एमालेको सदस्यता नवीकरण गराएकी थिइन्। तर, अध्यक्ष ओलीले २०८२ साउन ६ गते भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गराएपछि उनले २०८२ मङ्सिर २७ देखि पुस ३ सम्म सम्पन्न ११औँ महाधिवेशनमा भाग लिन पाएकी थिइनन्।
भदौको जेन–जी आन्दोलन र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ओली नेतृत्वको एमालेले लज्जास्पद हार बेहोरेको थियो। अहिले ओलीमाथि नेतृत्व छाड्नुपर्ने दबाब रहेको छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल नै ओलीको विपक्षमा रहेको अवस्थामा भण्डारीको सदस्यता नवीकरण गरिएको हो।





