सर्वोच्च प्रशासनविरुद्ध बारको आन्दोलन : भोलि दिउँसो लालटिन बालिने

काठमाडौं । सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै नेपाल बार एसोसिएसनले आन्दोलन घोषणा गरेको छ। आज साँझ बसेको बारको बैठकले पाँच बुँदे विमति राख्दै आन्दोलनका कार्यक्रम तय गरेको हो।
बारले सर्वोच्च अदालत प्रशासनले विभिन्न दरपीठमाथिका निवेदनहरू विनाकारण दर्ता नगरेको विषयलाई गम्भीर रूपमा लिएको छ। बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कामु प्रधानन्यायाधीशको आदेश पालना नहुनु प्रशासनको रवैया असाधारण मात्र नभएर ऐतिहासिक भूल हो।”
सर्वोच्च प्रशासनको उक्त कार्यको विरोधमा बारले भोलि दिउँसो सवा एक बजे बारको प्राङ्गणमा लालटिन बाल्ने जनाएको छ। लालटिन बालेपछि थप आन्दोलनका कार्यक्रम तय गरिने बारले जनाएको छ।





